अर्थ

मार्तडीमा राष्ट्रिय प्रसारणको बिजुली

जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडी लगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।

दैनिक ६ देखि १० घनटासम्म लोडसेडिङ खेप्दै आएका सदरमुकामवासी उक्त लाइन जडान भएपछि खुसी भएका छन्। यही माघ ७ गतेदेखि जडान गरिएको लाइनबाट १० गते साँझदेखि नियमित रूपमा विद्युत् उपलब्ध गराउन सकिएको प्राधिकणका कार्यालय प्रमुख ललितकुमार मण्डलको भनाइ छ। २०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत् केन्द्रले २०६६ सालदेखि विद्युत् उपलब्ध गराउन थालेपछि स्थानीय त्रिवेणी सहकारी संस्थाले २० वर्षका लागि सम्झौता गरेर बिजुली दिँदै आएको थियो।  

दुई सय किलोवाट क्षमताको बिजुलीले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो लोडसेडिङ गर्दै आएको थियो। सदरमुकाम मार्तडीलाई लक्ष्य गरेर सोमबारदेखि ११ हजार भोल्टेजको लाइन जडान उपलब्ध गराइएको हो। बाजुरामा सबस्टेसन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा विस्तार गरिने र सबस्टेसन निर्माण भइसकेपछि ३३ केभिएको लाइन दिन सकिने उनले जानकारी दिए। 

प्रकाशित: १२ माघ २०७८ ०५:५० बुधबार

नेपाल विद्युत् प्राधिकरण