अर्थ

शनिबार पनि भत्ता बाँड्दै राष्ट्रिय वाणिज्य बैंक

भत्ता लिन शनिबार बैंक अगाडि लाईन लागेका गोनपा ३ का सर्वसाधारण। तस्बिरः नागरिक

सेवाग्राहीलाई सजिलो होस् भन्ने उद्देश्यले राष्ट्रिय बाणिज्य बैंक गोरखाले शनिबार पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। अन्य दिन बैंकमा सेवाग्राहीको भिड लाग्ने हुँदा सामाजिक सुरक्षा भत्ताको रकम लिन वृद्धवृद्धालाई घण्टौँ पर्खनुपर्ने हुँदा शनिबार सेवा दिइएका बैंकका गोरखा शाखा प्रबन्धक कपिल कार्कीले बताए।  

शनिबार गोरखा नगरपालिका ३ नारेश्वरका सामाजिक सुरक्षा भत्ता पाउनेहरु बैंकमा आएका थिए। वडा नम्बर ३ को सामाजिक सुरक्षा भत्ता वितरण गर्न गोरखा नगरपालिकाले राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखालाई जिम्मा दिएको छ। ‘वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ताको सेवा लिने छ सय २० जना हुनुहुन्छ’, प्रबन्धक कार्कीले भने, ‘शनिबार करिब तीन सय ५० जनाले सेवा लिनुभयो।’ अन्य दिन पनि आएर उक्त सेवा लिन सकिनेछ। तर अन्य सेवा पनि चल्ने दिन सामाजिक सुरक्षा भत्ता मात्र वितरण गर्न संभव नहुने भन्दै बैंकले शनिबार पनि सेवा दिएको जनाएको छ। अब अन्य दिन चाप कम हुन्छ।

‘हामीले सेवाग्राहीको चापलाई ध्यान दिएर सजिलोका लागि शनिबार सेवा दिएका छौँ’, राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रबन्धक कार्कीले भने, ‘वर्षमा चार पटक सामाजिक सुरक्षा भत्ता वितरण गर्न हामीले बिदाको दिन पनि सेवा दिन्छौँ।’

शनिबार बिहानैदेखि बैंक अगाडि भत्ता बुझ्न आउनेहरुको लर्को थियो। सामाजिक सुरक्षा भत्ता बाहेक अन्य काम बैंकले शनिबार नगरेकाले फटाफट सेवाग्राहीले सेवा पाउँदा खुसी देखिन्थे। अन्य बैंकहरुले भने बिदाको दिन सेवा दिएका छैनन्। नियमित बैंक खुलेको समयमा सेवा दिँदा घण्टौँसम्म बैंकको ढोका अगाडि केही दिन यता वृद्धवृद्धाको लर्को देखिन्छ।  

बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेसँगै गोरखा नगरपालिकाले वडा पिच्छे फरक फरक बैंकलाई वितरणको जिम्मा दिएको छ।

प्रकाशित: ८ माघ २०७८ १३:०७ शनिबार