अर्थ

सेञ्चुरी बैंकको सभा सम्पन्न

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले २०७८ असार मसान्तसम्म कायम चुक्ता पुँजीमा ५.७५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायत प्रतिवेदन पारित गरेको छ।

साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयर धनीहरूको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ। हाल बैंकले १ सय २६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र १ सय ८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २ माघ २०७८ ०६:०३ आइतबार

लेखापरीक्षकको प्रतिवेदन सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सेयर धनीहरू