अर्थ

उद्यमशीलता विकास गर्न स्वरोजगार

कोष र सिटिभिटीबीच सम्झौता

उद्यमशीलता विकास गर्न समझदारी पत्रमा हस्ताक्षर गरेर एक आपसमा साटासाट गर्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्ले। तस्बिरः नागरिक

मुलुकमा बेरोजगारी समस्या बढिरहेका बेला उद्यमशीलता विकास गर्दै रोजगारी सृजना गर्नका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)ले सहकार्य गर्ने भएका छन्।  

दुई निकायले बेरोजगार युवालाई सीप सिकाएर पुँजी उपलब्ध गराई उद्यमी बनाउनका लागि सघाउने भएका छन्। सिटिइभिटीले तालिम दिएका सीपयुक्त जनशक्तिलाई स्वरोजगार कोषले सहुलियत कर्जा उपलब्ध गराएर उद्यमी बनाउन सहकार्य गर्ने विषयमा दुई निकायबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले हस्ताक्षर गरे।

परिषदले सीप सिकाउने छ भने कोषले पुँजी प्रदान गर्नेछ। युवालाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुग्ने कोषका कार्यकारी निर्देशक अधिकारीले बताए। ‘सिटिइभिटीले सीप सिकाउँछ,, हामीले पुँजी उपलब्ध गराउँछौं,’ उनले भने, ‘यसले उद्यमशीलता विकासमा सघाउ पुग्छ।’ कोषले यो वर्ष करिव १२ हजार रोजगारी सृजना गर्ने लक्ष्य लिएको अधिकारीले बताए। विदेशमा सीप आर्जन गरेर स्वदेश पर्केका निम्न वर्गीय परिवारका युवालाई बिना धितो सहुलियतदरमा कर्जा उपलब्ध गराउने कोषले जनाएको छ। ‘परिषदले सीप सिकाउँछ,’ कार्यकारी निर्देशक अधिकारीले भने, ‘सीपयुक्त युवालाई कोषले बीउ पुँजी उपलब्ध गराउँछ।’

वार्षिक श्रम बजारमा आउने युवाहरुलाई प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक तालिम र उद्यमशीलताको विकास मार्फत रोजगारी सृजना गर्न सघाउ पुग्ने सदस्य सचिव काफ्लले बताए। वैदेशिक रोजगारीबाट सीप, अनुभव र पुँजी समेत आर्जन गरी स्वदेश फर्किएका युवालाई उद्यमशीलतासँग जोडिनेछन्। उद्योगी, व्यवसायी एवं रोजगारदाताको सहभागितामा पहिचान भई आएका पेशा तथा व्यवसायलाई सघाउने योजना रहेको छ।

श्रम बजारको माग, स्थानीय स्तरको आवश्यकता र युवाहरुको चाहना र क्षमता अनुसार प्राविधिक तथा व्यावसायिक शिक्ष र सीपमूलक तालिममार्फत पनि रोजगारी सृजना गर्ने तयारी रहेको छ।

प्रकाशित: २२ पुस २०७८ १३:४६ बिहीबार