अर्थ

मर्दी हिमालमा माघ अन्तिमसाता ‘समर स्की’ महोत्सव

मर्दी हिमाल क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एकसाता ‘समर स्की’ महोत्सव गरिदैंछ। माघको अन्तिम साता छोटो पदयात्राको रुपमा परिचित मर्दी हिमालमा आगामी माघको अन्तिम साता ‘समर स्की’ महोत्सव गरिने भएको हो।  

सबै सिजनको लागि पर्यटन अभियानलाई सार्थकता दिन दिगो हिमालयन कोष नामक संस्थाले आगामी माघ २७ गतेदेखि फागुन ३ गतेसम्म स्की महोत्सव गर्ने तयारी गरेको हो। संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सवको तयारी गरिएको हो। महोत्सवलाई ‘ग्रेट हिमालयन स्की भ्रमण’ नाम दिइएको छ।  

वर्षेनी मुस्ताङको बारागुँ क्षेत्रमा नेपाल स्की च्याम्पियनसिप गर्दै आएको छ। साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुने च्याम्पियनसिपले स्कीप्रतिको मोह बढाउँदै गएको छ। संस्थाले मर्दीमा गर्न लागेको स्की महोत्सव आठौं चरणको हो। यस अघि मनास्लु, कालिञ्चोक लगायतका स्थानमा यो महोत्सव भईसकेको आयोजक संस्थाका अध्यक्ष रामबहादुर थापाले बताए। महोत्सवमा भाग लिनेहरुको बिमाका लागि २ लाख २० हजार रुपैंयाँ विनियोजन गरिएको छ। महोत्सव सम्पन्न गर्न १६ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएएको छ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिव सुदीप गौतमका अनुसार सबै सिजनका लागि पर्यटन भन्ने अभिप्रायले स्की महोत्सवको आयोजना गरिएको हो। ‘विन्टर पर्यटन प्रवद्र्धन योजना हो। स्की महोत्सवले साहसिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास छ,’ गौतमले भने, ‘खास गरी पदयात्रा र पर्वतारोहणमा आवद्ध गाईडहरुलाई महोत्सवमा सहभागि गराइने छ।’ संस्थाले मर्दी हिमालमा स्की गर्ने बारेमा भौगोलिक अध्ययन समेत गरेर फर्किएको थियो। पूर्व अध्ययनपछि नै संस्थाले मर्दीमा स्की महोत्सव गर्ने निर्णय गरेको उनको भनाई थियो। ‘मर्दीमा आयोजना गरिएको स्की महोत्सव पहिलो पटक हो,’ उनको भनाई थियो ।  

मर्दीकै स्थानीय गाईडहरुलाई विशेष प्राथमिकता राखिएको छ। पथप्रदर्शक, हिमाल आरोहण गाईड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको सहभागितामा जोड दिएको छ। महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ सय मानिहरु लाभान्वित हुने विश्वास गरिएको छ। महोत्सवले नेपालको आन्तरिक पर्यटनको प्रवद्र्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्की सम्बन्धि सीप हस्तान्तरण हुने, नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले विश्वास व्यक्त गरे।  उनका अनुसार मर्दीको ४ हजार मिटर उचाईबाट झण्डै २÷३ सय मिटर तल ओरालिने छ। पूर्वतर्फ घाम छिटो पर्ने भएकोले हिँउ पग्लिने हुदाँ पश्चिमी भागमा स्की महोत्सव गरिने उनले बताए।  

कोरोना महामारीकै कारण पर्यटन क्षेत्र सुस्ताएको छ। त्यसमा पनि अझ बढी प्रभावित पदयात्रा र पर्वतारोहण हुन पुगेको छ । ‘महोत्सव ट्रेकिङ गाईड र माउण्टेन गाईडलाई लक्षित छ,’ उनले भने, ‘दक्ष जनशक्ति उत्पादन गर्ने प्रयास हो।’ स्कीको लागि नेपालमा दक्ष जनशक्तिको अभाव छ । हिउँदमा स्कीकै लागि नेपालीहरु विदेश जाने गरेका छन्। ‘दक्ष जनशक्ति नहुने र स्वदेशी पनि स्कीको लागि विदेश जाने परम्परालाई अन्त्य गर्ने मुख्य उद्देश्य हो,’ उनको भनाई थियो। जनशक्ति उत्पादनमा ध्यान दिन सकिए दीर्घकालिन प्रभाव रहने उनले स्पष्ट पार ।  

अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरले प्रशिक्षण तथा सहजीकरणमा गर्ने छन्। यो महोत्सवले मर्दी हिमाल पदयात्रालाई झनै प्रचार प्रसार गर्ने गौतमले विश्वास व्यक्त गरे। गौतम मर्दी हिमाल पदयात्राका मार्गका प्रवद्र्धक हुन् । महोत्सवमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (संघ), गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, गण्डकी अल्पाईन क्लव लगायतका सँस्था तथा मन्त्रालयले सहकार्य गरेका छन्।  

महोत्सव अन्तरगत पदयात्रा, आधारभुत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धि बृत्तचित्रहरु प्रदर्शन गरिने छ। संस्थाले ६ पटकसम्म लाङटाङ क्षेत्रमा स्की सम्बन्धि तालिम गराईसकेको छ। यसैगरी धौलागिरी हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको व्यालेन्स हिमाल, गोसाईंकुण्ड, मिरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङ लगायतका स्थानमा स्की पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले मर्दी हिमालमा हुने स्की महोत्सवले नेपालको पर्वतारोहण पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।  

प्रकाशित: १९ पुस २०७८ ०८:५० सोमबार

मर्दी हिमाल समर स्की