अर्थ

हिमपातले गाउँलेलाई सकस, व्यवसायीलाई राहत

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मर्दी हिमाल क्षेत्र । तस्बिर सौजन्यः चीमनारायण गौतम

अघिल्लो साताको बाक्लो हिमपातले उच्च हिमाली भेगमा सकस निम्त्याएको छ। हिउँमा पुरिएर कतिपय हिमाली गाउँका बासिन्दाको ज्यानै समेत गएको छ। हिमाली भेगका बासिन्दा चिसो खप्न नसकेर घरबास छाडेर नजिकका सहर झरेका छन। हिमपातले रोकिदिएको गाउँलेकोे आउजाउ अझै सहज हुन सकेको छैन।

हिमपातले हिमाली क्षेत्रमा सकस निम्त्याउँदा हिमपात भएका पर्यटकीय भेगका व्यवसायी भने हिउँकै कारण पाहुना भित्रिएकामा खुसी छन्। अफसिजनमा पनि पाहुना पाउँदा स्थानीय व्यवसायीको आम्दानी बढेको छ। भारतीय र आन्तरिक पाहुना अहिले हिउँ खेल्न हिमाली भेगसम्म पुगेका छन्। हिउँमा रमाउन आएका पाहुनाका कारण हिमाली गन्तव्यका व्यवसायीलाई राहत मिलेको छ।

अहिले मर्दी हिमाल क्षेत्रमा हिउँ खेल्न पुगेका पाहुनाका कारण मर्दी क्षेत्रमा भीडभाड रहेको त्यहाँका व्यवसायीले बताएका छन्। अफसिजन भएपनि हिउँमै रमाउनका लागि आन्तरिक र भारतीय पाहुना अहिले धमाधम मर्दी क्षेत्रमा उक्लिरहेको उनीहरुको भनाई छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हाइक्याम्पमा होटल एक्सेलेन्ट भ्यू संचालन गरिरहेका व्यवसायी चीमनारायण गौतमले अफसिजन भएपछि हिमपातले गर्दा पाहुना आएको बताउँछन्। मर्दीको ३५५० मिटर उचाईको हाईक्याम्पमा १२ वटा होटल छन्। ती सबै होटलले अहिले दिनमा २० देखि २५ जनासम्म पाहुना पाएको उनले बताए।  

‘यो बेला हिउँ नपर्दाे हो त पाहुना आउने थिएनन। तर, अहिले हिउँ खेल्नकै लागि भनेर मर्दी क्षेत्रमा पाहुना भित्रिएका छन्,’ गौतमले भने, ‘यसले पर्यटन क्षेत्रमा राहत दिलाएको छ।’ उनका अनुसार अहिले भारतीय र आन्तरिक पाहुना मर्दी आधारशिविरसम्म पुग्ने गरेका छन्। भारतीयहरु हेलिकप्टरमा र आन्तरिक पर्यटक हिडेरै मर्दी उक्लिरहेको उनले सुनाए। उनका अनुसार मर्दी हाइक्याम्पमा अझै पनि ३ फिटजति हिउँ जमेको छ। त्यही हिउँमा रमाउन पाहुना पुगिरहेको उनले बताए। पोखराबाट एकदिनमै मर्दी पुगिने भएकोले पनि पाहुनाको आउजाउ सहज भएको उनले बताए। हेलिकप्टरमा जाने पाहुनाहरु भने केहीबेरमा पुगेर हिउँमा रमाएर हेलिकप्टरमै फर्किने गर्छन्।  

‘हिउँले अन्यत्रका हिमाली गाउँमा सकस थपेको छ। तर, हामीलाई भने पाहुना भित्र्याउने अवसर दिलाएर आम्दानी बढाईदिएको छ,’ गौतमले भने, ‘अफसिजन भएपनि आन्तरिक पाहुनाका कारण हामीलाई यो बेलामा थोरै भएपनि सहज भएको छ।’ पोखरामा नयाँवर्ष मनाउन आएका भारतीय पाहुना पनि अहिले हिउँमा रमाउन मर्दीसम्म पुगेको उनले बताए। पैदल हिड्न नसक्नेहरु अहिले धमाधम हेलिकप्टरमा पोखराबाट मर्दी पुगिरहेका छन्। हाइक्याम्पमा पुगेका पाहुना झन्डै ४५ सय ५० मिटर माथिको बेसक्याम्प पुगेर घुमेर फर्किने गरेका छन्।

मर्दीमा हिउँमा रमाउन पाएका पर्यटक पनि खुसी छन्। धरानबाट नयाँवर्ष मनाउन र छोटो दूरीको पदयात्रामा जाने तयारीका साथ आएका पीटर चेम्जोङ लिम्बु सहितको टिम अहिले मर्दी पुगेको छ। धरानमा नजिकको गन्तव्यमा हिउँ खेल्न नपाएका लिम्बुले पहिलो पटक मर्दी क्षेत्रमा रमाउन पाउँदा नयाँ अनूभुति भएको बताए। 

‘धरानमा नजिकको गन्तव्यमा हिउँ खेल्ने ठाउँ छैन। यो पटक नयाँवर्ष मनाउन पोखरा आएका थियौ, त्यही बेला हिउँमा रमाउने गरि मर्दीसम्मको पदयात्रामा उक्लियौ,’ लिम्बुले भने, ‘यतिधेरै हिउँमा रमाउने अवसर जहाँ पायो त्यहाँ पाइँदैन। यो हाम्रा लागि पहिलो अवसर थियो।’ पाँचजनाको समुह मिलेर हिउँमा रमाउनका लागि मर्दी पुगेको उनले बताए।  

हिमाली जिल्ला मुस्ताङमा पनि अहिले हिउँमा रमाउन आन्तरिक पाहुना पुगेका छन्। मुक्तिनाथ क्षेत्रमा पछिल्लो केहीदिनदेखि आन्तरिक पाहुना हिउँमा रमाउने गरि पुग्न थालेको त्यहाँका व्यवसायी सुरज गुरुङले बताए। उनका अनुसार हिउँ परेपछि सुरुका दुईदिन मुक्तिनाथसम्म गाडी उक्लिन सकेन। तर, अहिले गाडी पुग्न थालेपछि हिउँमा रमाउने आन्तरिक पाहुना पुगेको उनले बताए। ‘पोखराबाट अलि टाढा भएकोले पनि धेरै संख्यामा पाहुना पुग्न नसकेको उनले बताए। ‘स्थानीयलाई त्यही हिउँले सकस दिलाएको छ, तर, रमाउन पुग्ने पाहुना पनि छन,’ उनले भने, ‘हिउँ खेल्न पुगेका पाहुनाका कारण हामीलाई केही सहज भएको छ।’

अहिले हिउँमा रम्ने पाहुनालाई हेलिकप्टरले गन्तव्यसम्म पुर्‍याउने गरेका छन्। विभिन्न हेलिकप्टर कम्पनिले अहिले कफुचे ताल र मर्दी हिमालसम्म उडान गरेर पर्यटक ओसार्ने गरेका छन्। पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीका अनुसार दिनमा तीनवटा कम्पनिले कफुचे र मर्दीमा दर्जन बढी उडान गरिरहेका छन्।  

प्रकाशित: १९ पुस २०७८ ०८:४३ सोमबार

हिमपात व्यवसायीलाई राहत