अर्थ

एनएमबी बैंक–सिफेमबीच सम्झौता

एनएमबी बैंकले स्विस इन्भेस्टमेन्ट फन्ड इमर्जिङ मार्केट्स (सिफेम)सँग एक करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने सम्झौता गरेको छ।

सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी यो सम्झौता भएकोे बैंकले जनाएको छ। सम्झौता सिफेम र स्विस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बैंकले जनाएको छ।

नेपालमा विकासलाई अगाडि बढाउन स्विस संस्थाहरूबीच विशेषज्ञता र समन्वयको उपयोग गरी सिफेम र एसडिसी बीचको सहकार्यमा भएको यो लगानी नेपालसँग स्विट्जरल्यान्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा सावित हुने बैंकको विज्ञप्तिमा उल्लेख छ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघुसाना तथा मझौला उद्यमहरूलाई कर्जा प्रदान गर्न र वित्तीय पहँुच अभिवृद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी वृद्धिमा सहयोग र स्थानीय अर्थ व्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रमा लगानी गर्ने बैंकले जनाएको छ।

प्रकाशित: १४ पुस २०७८ ०३:४५ बुधबार

एनएमबी बैंक