अर्थ

ऋणकर्जा प्रकरणबाट बच्यो कुमारी बैंक

कुमारी बैंकले कुशल व्यवस्थापनका कारण १९ करोड ऋणकर्जा प्रकरणमा बैंकका कर्मचारी बैंकिङ कसुर मुद्दा चल्नबाट जोगिएको जनाएको छ।

गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली जग्गाधनी प्रमाणपुर्जा तयार गरेको भनी केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरेको थियो। उक्त उजुरीमा छानबिन हुँदा सरकारी वकिल कार्यालयले बैंकिङ कसुर मुद्दासमेत आकर्षित हुने देखिँदा सो उपरसमेत छानबिन गर्न ब्युरोलाई निर्देशन दिएको थियो।

बैंकले अमात्यको उजुरी पर्नुअघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकाले विशेष सरकारी वकिल कार्यालयले बैंकिङ कसुर मुद्दा चलाउन नपर्ने भनी राय व्यक्त गरेको हो।

गायक योगेश्वर अमात्यको नाममा कम्पनीको स्वामित्वमा रहेको जग्गाको नक्कली जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाई कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट निकालिएको कर्जा बैंकले सो कर्जाको सुरक्षणस्वरूप रहेको धितो किर्ते रहेको जानकारी प्राप्त गर्नासाथ ऋणीबाट कर्जा असुलउपर गराएको थियो।

यस कार्यले एकातिर बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गरेको छ भने अर्कोतिर आफ्ना कर्मचारीउपर बैंकिङ कसुर मुद्दा चल्नबाट जोगाएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ पुस २०७८ ०३:४१ बुधबार

कुमारी बैंक