अर्थ

बेमौसमी तरकारीका लागि गाउँगाउँमा टनेल

गुठिचौर गाउँपालिका ५ फोईगाउँका धनलक्ष्मी धिताल प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी खेती गरिरहेकी छिन्।  उनी वर्षेनि हिउँदे तरकारी उत्पादन गरेर बजारसम्म लैजान्छिन्। बेमौसमी तरकारी खेती गरेपछि आर्थिक स्थिती बलियो भएको उनले बताइन्।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन राम्रो हुने गरेको धिताल बताउँछिन्। टनेल भित्र धनियाँ, विभिन्न प्रजातिको सागपात, टमाटर, प्याज, काउली, लसुन, गाँजर लगायत तरकारी उत्पादन भइरहेको छ। उनले भनिन्, ‘पहिले टनेलभित्र तरकारी उत्पादन हुन्छ भन्दा अचम्म मान्थ्यौँ, अहिले आफै टनेलभित्र तरकारी खेती गरेर बजारसम्म लैजाँदा दंग छौँ।’

मंसिरदेखि फागुन महिनासम्म तरकारीका बिरूवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको छ। नेपालगञ्ज र सुर्खेतबाट आउने तरकारीको मूल्य २ सय ५० रुपैयाँभन्दा माथि छ। स्थानीयस्तरमै तरकारी उत्पादन बढ्दै गएपछि जिल्ला बाहिरको तरकारी कम भित्रिन थालेको छ। यो यहाँका किसानका लागि निकै राम्रो बिषय हो।’

बजारका मन्डिमा गएर तरकारी किन्नु भन्दा घरमै उत्पादन गरेको तरकारी खानयोग्य भएको किसान बताउँछन्। आफ्नो घरमा उत्पादन गरेको तरकारीले स्वस्थ्यकर हुनेछ। बारीमा उत्पादन गरेको तरकारीमा विषादीको प्रयोग हुँदैन। गाई वस्तुको गोठेमल प्रयोग हुने भएकोले निकै राम्रो मानिन्छ। उनले भनिन्, ‘टनेल भित्रको तरकारी स्वास्थ्यका लागि पनि हीतकर छ। किसानको समृद्धिको संभावना पनि बोकेको छ।’

अर्की महिला किसान विष्णुमाया धिताल बारीमा बेमौसमी तरकारी फलाउँदा आर्थिक रुपमा आत्मनिर्भर हुने बाटो खुलेको बताउँछिन्। उनले भनिन्,‘स्वास्थ्यमा सुपोषणका लागि पनि उपयुक्त छ। बजारमा लगेर बेच्नको लागि पनि फाइदाजनक छ। सागसब्जीमा पौष्टिक तत्व हुन्छ।’

हामीले खानामा रंगिन सब्जी तथा फलफूल समावेश गर्नुपर्छ। जसले स्वस्थ जीवनको लागि पोषक तत्व पनि छुट्टाछुट्टै खानाबाट प्राप्त हुने गर्दछ। उनले थपिन्,‘अर्गानिक तरकारीको प्रयोगले रोगबाट छुटकारा पाउन सकिन्छ।’

जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायो सागको तरकारी लोकप्रिय मानिन्छ। साग बढी पोषणयुक्त हुने भएकोले स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक हुने किसान बताउँछन्। सागमा भिटामिनको प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुने गर्छ।

मंसिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको उनी बताउँछिन्  यहाँका घरमा नियमीत रुपमा बेमौसमी तरकारी खाने गरेका छन्। केही वर्ष यता तरकारी खेती गर्नेको लहर चलिरहेको छ। उनीहरुका अनुसार गाउँगाउँमा तरकारी उत्पादन बढ्दै गएपछि बाहिरको तरकारी कम भित्रन थालेको छ। अधिकांश किसानहरुले प्लास्टिक टनेलमा उत्पादन गरेको साग धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजर लगायत तरकारी बजार बेच्न लिने गरेका छन्।

जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ। खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्। हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन्। जुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ। अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ।

तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन्। अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ। प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ।

प्रकाशित: १३ पुस २०७८ १२:१८ मंगलबार

बेमौसमी तरकारी गाउँगाउँमा टनेल