अर्थ

सुदूरको पञ्चवर्षीय योजना अवधारणा स्वीकृत

सुदूर पश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको हो।

मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशका दुईवटा स्थानीय तहमा वडा थप गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न संघीय सरकारलाई सिफारिस गरिएको हो। गाउँ सभाबाट निर्णय पारित भएर आएको बताउँदै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भनिन्,‘सबै प्रक्रिया पुगेकाले हामीले संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं।’

रामारोशन गाउँपालिकामा अहिले सात वडा छ। सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइने छ भने ९ वटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरी ११ बनाइने बताइएको छ। यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा पेस भएको अस्थायी रूपमा कर्मचारी दरबन्दी र फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा सम्बन्धमा पनि निर्णय भएको छ।

प्रदेश सरकारले केही महिनाअघि सञ्चालनमा ल्याएको प्रदेश राजपत्र छापाखानामा अस्थायी रूपमा कर्मचारी दरबन्दीका लागि निर्णय गरेको मन्त्री जोशीले बताइन्। ‘छापाखानामा एक कार्यालय सहयोगी, प्राविधिकसहित तीनजना कर्मचारी अस्थायी रूपमा भर्ना गरिने छ,’ उनले भनिन्। यस्तै प्रदेशमा रहेका फर्महरू नवीकरण नभएकाले उनीहरूको म्याद थप गरी पाँच प्रतिशत जरिवाना राखिएको उनले बताइन्।

पत्रकारसँग बोल्दै मन्त्री जोशीले प्रदेश योजना आयोगले तयार पारेको अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने पनि बताइन्।

प्रकाशित: ११ पुस २०७८ ०४:३८ आइतबार

सुदूर पश्चिम प्रदेश सरकार प्रथम पञ्चवर्षीय योजना संक्षिप्त अवधारणापत्र स्वीकृत