बाँकेस्थित राप्तीसोनारी गाउँपालिकामा पशुपालन व्यवसाय बढ्दै गएको छ। पशु सेवा शाखा राप्तीसोनारीको तथ्यांकअनुसार राप्तीसोनारीमा पछिल्ला केही वर्षयता पशुपालन व्यवसाय बढ्दै गइरहेको हो। भूगोल र जनसंख्याका हिसाबले देशकै सबैभन्दा ठूलो स्थानीय तहका रूपमा रहेको राप्तीसोनारीमा उक्त व्यवसायमार्फत स्वरोजगारीसमेत बढ्दै गएको छ।
पशु सेवा शाखा प्रमुख जयबहादुर कार्की शाखाले विशेष गरी पशुपालन र पशुपन्छी पालनलाई जोड दिइएको बताउँछन्। उनका अनुसार पशुपालन मात्रै होइन, जनावरमा लाग्ने संक्रामक रोग तथा परजीवीबाट बचाउन निःशुल्क औषधिसमेत वितरण गर्ने गरिएको छ। शाखाले औषधि वितरण तथा खोप कार्यक्रम नै सञ्चालन गरिरहेको छ।
यस पालिकामा सयौंको संख्यामा फार्म दर्ता भएका छन्। तीमध्ये अधिकांश फार्म सञ्चालनमा रहेको शाखाले जनाएको छ। हालसम्म शाखामा नौवटा गाईपालन, २६ वटा भैंसीपालन फार्म र सबैभन्दा धेरै बाख्रापालन फार्म मात्रै एक सय दुईवटा दर्ता भएको उनले जानकारी दिए। बंगुरपालन फार्मको संख्या ३५, कुखुरापालन ४० र माछा पालन फार्म चारवटा रहेका छन्।
त्यस्तै पालिकामा दर्ता भएका मासु पसल ७४ वटा, डेरी दुईवटा, दुग्ध संकलन केन्द्र चारवटा र दाना तथा मिनरल सप्लिमेन्ट एउटा रहेका छन्। गाउँपालिकाको पशु सेवा शाखाले पशुपालक किसानको मागलाई ध्यानमा राख्दै विभिन्न समयमा भ्याक्सिन प्रदान गर्दै आएको छ। ‘राप्तीसोनारी विशेष बाख्रापालक क्षेत्रसमेत हो। बाख्रापालक कृषकलाई व्यवसायमूलक बनाउन तालिमको आयोजनासमेत हुने गरेको छ,’ उनले भने।
सामाजिक महिला उद्यमी सहकारीका अनुसार राप्तीसोनारी क्षेत्रमा मात्रै करिब २५ हजार बाख्रा छन्। सहकारीमार्फत राप्तीसोनारीमा एनजीओहरूले समेत पशुपालनमा ठूलो लगानी गरिरहेका छन्। यहाँ विशेषगरी महिला बाख्रापालक किसानको संख्या बढ्दो क्रममा छ। जसकारण उनीहरू आत्मनिर्भरतातर्फ उन्मुख हुँदै छन्। सधैं चुलोचौकोमा सीमित हुने महिला अहिले पशुपालनबाट आत्मनिर्भरताको बाटोमा लम्ँिकदै छन्। यसबाट महिलामा सकारात्मक जागरण आएको छ।
‘मासुजन्य पदार्थको खपतमा वृद्धि गर्न डाले घाँस उत्पादन र वितरणलाई जोड दिइएको छ,’ कार्की भन्छन्, ‘बहुवर्षे घाँसमा उत्प्रेरित गरी पशुवस्तुको आहारामा समेत ध्यान दिइएको छ।’ यस्ता व्यवसायमा सुधार गर्ने उद्देश्यले पशुपालन व्यवसायमा किसानलाई स्थानीय सरकारले सहयोगसमेत गर्दै आएको छ। यतिसम्म कि शाखाले पशुपालक किसानमा घरदैलोमै पुगेर व्यवसाय गर्दाका समस्या र चुनौती विषयमा सोधीखोजी गर्ने गरेको छ। त्यसका लागि घरदैलो अभियानसमेत सञ्चालन गरिएको छ। अभियानअन्तर्गत किसानलाई सहजै सेवासमेत उपलब्ध गराइएको छ।
‘पशुपालन गर्ने किसानका समस्यालाई ध्यानमा राखी घरदैलोमा पुगेर सेवा दिने गरेका छौं,’ कार्की थप्छन्, ‘राप्तीसोनारी गाउँपालिका पशु सेवा शाखाले गोठ/खोर सुधार, घाँँस वितरण, कुखुराका चल्ला वितरण, पशु खोप कार्यक्रम, पशु स्वास्थ्य शिविर, दैवीप्रकोप, महामारीलगायत काम गर्दै आएको छ।’ पशुपालन व्यवसायमार्फत राप्तीसोनारीमा आत्मनिर्भरतासँगै रोजगारीसमेत वृद्धि हुँदै गएको छ।
प्रकाशित: ८ पुस २०७८ ०३:०३ बिहीबार