अर्थ

नगरकोट सडक ठेकेदारको ‘लाइसेन्स’ खारेजी गर्न माग

प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरको कमल विनायक–नगरकोट सडक निर्माणको ठक्का पाएको सैलुङ कन्स्ट्रक्सन कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने बताएका छन्। सो सडक निर्माणमा भएको ढिलाइ तथा लापरबाहीका सन्दर्भमा बुधबार भक्तपुरमा आयोजित अन्तक्र्रियामा उनले समयमै काम नसकेकोमा ठेकेदार कम्पनीसँग कारबाहीस्वरूप जरिवाना पनि लिनुपर्नेमा उनले जोड दिए। 

चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको सरोकारवालासँगको छलफलमा उनले ठूला दलको संरक्षणका कारण ठेकेदारले समयमै काम नगरेको दाबी गरे। आयोजनाबाट ० प्रतिशतको रकम निर्माण कम्पनीले जग्गामा लगानी गरेको चर्चा चलेको भन्दै उनले काम नगर्ने कम्पनीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाए।

भक्तपुरको नगरकोट सडक समयमै नबनाएको भन्दै अहिलेसम्म मन्त्रिपरिषद्बाटै सातपटक म्याद थपिसकिएको छ। पछिल्लोपटक आगामी चैत ३० गतेभित्र सडक निर्माण सम्पन्न गराउनुपर्ने गरी म्याद थप गरिएको छ। चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले समयभित्र काम सकाउनेगरी लिखित प्रतिबद्धताको माग राखे। उनले त्यो पत्र शुक्रबारसम्म बुझाउन निर्देशन दिए। निर्देशनअनुसार काम नभए ठेक्का तोड्ने उनले चेतावनी दिए।

निर्माणको ठेक्का पाएको शैलुङ कन्सक्ट्रक्सनका व्यवस्थापक अनुप अधिकारीले थप भएको म्याद चैत ३० गतेसम्म रहे पनि चैत १५ भित्र नै काम सम्पन्न गरी सडक हस्तान्तरण गरिसक्ने प्रतिबद्धता जनाए। कुल १५ किलोमिटर सडकमध्ये नौ किलोमिटर कालोपत्रे भइसकेको जानकारी दिँदै उनले बाँकी ६ किलोमिटर सडकमा बेस राख्नुपर्नेमा तीन किलोमिटर बेस राख्न सकिएको जनाए। बाँकी तीन किलोकिलोमिटर सडकमा दैनिक ४० टक सामान ल्याई बेस राख्ने कामसमेत सम्पूर्ण काम सकाएर समयभन्दा अगाडि नै काम सकाउने प्रतिबद्धता जनाए। 

ठेकेदार कम्पनीले प्रतिबद्धता जनाए पनि सहभागी सरोकारवालाहरूले विश्वास नलाग्ने भन्दै ठेकेदारलाई कारबाही गनुपर्ने माग राखेका थिए। पार्टी प्रतिनिधिका तर्फबाट एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले ठेकेदारले काम गर्न नसक्ने भन्दै छाडेर जान आग्रह गरे। 

नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजूले ठेकेदारले ‘अब बढेको समयमै काम गर्न नसके जुनसुकै कारबाही भोग्न तयार छुु’ भनी लिखित प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिए। नगरकोट सडक बनाउन आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष गरिरहेको जानकारी उनले गराए। कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि भने सहभागी भएनन्। सर्वपक्षीय छलफलमा कांग्रेस सहभागी नभएको भन्दै असन्तुष्टि पोखिएको थियो।

कार्यक्रममा सहायक प्रजिअ सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइन्। नगरकोट सडक आयोजना प्रमुख गौतम श्रेष्ठले आफू भर्खरै आयोजना प्रमुख भएर आएको जानकारी दिँदै आफूले कुनै हालतमा पनि ठेकेदारको काम सकाउने म्याद नबढाउने प्रतिबद्धता जनाए। कार्यक्रममा चाँगुनारायण नगरपालिका–५ का वडाध्यक्ष जयन्द्र खड्का, चाँगुनारायण नगरपालिका–२ का सदस्य सोम प्रधानलगायत स्थानीयले ठेकेदारमाथि कारबाही गर्नुपर्ने माग राखेका थिए।

प्रकाशित: ८ पुस २०७८ ०२:२४ बिहीबार