अर्थ

वायुसेवा निगमका पूर्वअध्यक्षले सुविधामा टिकट नपाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने जनाएका छन्। मंगलबार निगमको कार्यालयमा व्यवस्थापन र कर्मचारीसँग छलफल गर्दै उनले निगमलाई सरकारी स्वामित्वमै सञ्चालन गर्ने निर्णय भएको जनाएका हुन्।

मन्त्रीस्तरबाट निगमलाई निजीकरण नगर्ने निर्णय भएको बताउँदै यसअधि निगमका पूर्वअध्यक्षलाई दिइँदै आएको वार्षिक चारवटा निःशुल्क टिकट सुविधा समेत खारेज गर्न निर्देशन दिएका छन्।

निगमलाई आर्थिक भारबाट मुक्त गर्दै व्यावसायिक सफलतातिर लैजाने योजना बनाउँन निगमलाई निर्देशन दिँदै मन्त्री आलेले पर्यटन सचिव महेश्वर न्यौपानेको सुझावमा यो सुविधा खारेज गरेको बताए। यसअघि निगमबाट सेवा निवृत्त भएका अध्यक्षले वर्षमा अन्तर्राष्ट्रिय तर्फको चारवटा टिकट पाउँदै आएका थिए।

मन्त्रीले एनएसी क्लबको समेत  पुनर्स्थापना गरेका छन्। त्यस्तै, मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कर्मचारीको प्रतिबद्धता, उडानमा नियमितता र सेवाको गुणस्तर वृद्धि गरी निगमलाई माथि उठाउन सकिने बताए।

उनले संस्थाप्रतिको विश्वसनीयता बढाउँदै अरूको कुदृष्टि रोक्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय बिक्री कक्षमा नेपाली उत्पादन बिक्री गर्ने बिक्री केन्द्र खोली नेपाली घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुरयाउने प्रयास भइरहेको जनाएका छन्।

प्रकाशित: ७ पुस २०७८ ०१:४४ बुधबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नेपाली घरेलु उत्पादनको बजार विस्तार निगमलाई निजीकरण नगर्ने निर्णय