अर्थ

सुदूरपश्चिम पर्यटन बोर्डः मन्त्री आलेले गरे कार्यालय उद्घाटन

धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनापछि बोल्दै मन्त्री आले। तस्बिरः पुष्पराज/नागरिक

सुदूरपश्चिम प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, प्रचार–प्रसार लगायतका गतिविधि अघि बढाउन कैलालीको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरिएको छ। विगत लामो समयदेखि यहाँका निजी व्यवसायीले प्रदेशमा बोर्डको कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै आए पनि अहिलेसम्म स्थापना हुन नसकेको कार्यालय यसपटक भने खुलेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढी उपमहानगरपालिकासँगै जोडिएको सरकारी भवनमा कार्यालयको समुद्घाटन गरेका छन्। उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले कार्यालय सञ्चालनका लागि बजेट अभाव हुन नदिने बताए। उनले यस वर्ष बोर्डका लागि एक करोड बजेट विनियोजन गर्न मन्त्रालयलाई निर्देशन दिइसकेको बताएका छन्।

‘प्रदेशमा बोर्ड सञ्चालनका लागि कति बजेट आवश्यक पर्छ भनेर सोध्दा ५० लाख भनिएको थियो। तर, मैले त्यति बजेटले पुग्दैन एक करोड राख्न भनेको छु,’ उनले भने, ‘कार्यालय सञ्चालनमा कुनै पनि बाधा अवरोध हुन नदिन र दिगो रुपमै कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छु।’ कार्यक्रममा बोल्दै उनले प्रदेशको पर्यटन क्षेत्रको विकासमा कुनै कमी कमजोरी हुन नदिने बताए। ‘यहाँ बोर्डको कार्यालय स्थापना गर्नुपर्ने माग विगतदेखि नै भइरहेको थियो,’ मन्त्री आलेले भने, ‘त्यही भएर देखिने गरी पर्यटन बोर्डको कार्यालय सञ्चालन भएको छ, अब पर्यटन क्षेत्रमा देखिने गरी काम हुनेछ।’

उनले कार्यालय सञ्चालनका एक जना प्रबन्धक, एक अधिकृतसहित आवश्यक दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन गरिने बताए।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बोर्ड धनगढीमै स्थापना भएपछि सुदूरपश्चिम प्रदेशका जनतालाई नजिकबाट सेवा पाउन सहज भएको बताए। ‘अहिलेसम्म यहाँका पर्यटन व्यवसायी तथा नागरिकहरुले पर्यटन प्रवर्द्धन तथा विकासमा पाउनुपर्ने सेवा लिन काठमाडौं तथा नेपालगन्ज धाउनुपर्ने थियो,’ उनले भने,‘अब प्रदेशमै कार्यालय स्थापना भएपछि यो समस्या हटेको छ।’

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले विगतदेखि माग गर्दै आइरहेको बोर्डको अहिले आएर कार्यालयले सार्थकता पाएको बताए। ‘हामीले २०६३ सालदेखि जिल्ला सुदूरपश्चिम महोत्सव सञ्चालन गर्दै आइरहेका थियौं। सोही बेलादेखि प्रदेशको विकासका लागि हरेक प्रधानमन्त्रीलाई २१ बुँदे माग पत्र बुझाइरहेका थियौ,’ उनले भने,‘सो माग पत्रमा पर्यटन बोर्ड प्रदेशमा स्थापना गर्नुपर्ने भए पनि आज आएर पूरा भयो।’

प्रकाशित: ५ पुस २०७८ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App