अर्थ

ठगी रोक्न शीघ्र प्रत्युत्तर टोली

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुन सक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो।

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको ¥यापिड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य छन्। वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासो तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि टोली गठन गरिएको बताए।

टोलीले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघ–संस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ।

वैदेशिक रोजगारसम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानूनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन गर्न टोलीले काम गर्नेछ। वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ।  

प्रकाशित: ४ पुस २०७८ ००:२८ आइतबार

प्रत्युत्तर टोली वैदेशिक रोजगारको क्षेत्र ठगी नियन्त्रण