अर्थ

ग्लोबल आइएमई बैंकले बेलायतको सिडिसी ग्रुपबाट तीन अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले निकट भविष्यमै सिडिसी ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट बन्ने बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रूपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

बुधबार ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सिडिसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सहमतिपत्र आदानप्रदान गरेका छन्।

सिडिसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरू जस्तै जलविद्युत्, नवीकरणीय ऊर्जा र पूर्वाधार,निर्माण,उत्पादन,कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्ने जनाएको छ।

उक्त ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्नेछ।

सिडिसी ग्रुपका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रिनी नागाराजनले नेपाल सधैं सिडिसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन्।

उनले उक्त ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सिडिसीको प्रतिबद्धता रहेको प्रस्ट भएको समेत बताए।

‘विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै अन्तर्राष्ट्रिय पुँजी लगानीमा कमी आएको अहिलेको अवस्थामा ग्लोबल आइएमई बैंकसँगको हाम्रो यस सहकार्यले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको सकारात्मक सन्देश प्रवाह हुने र ठूला विदेशी लगानी भित्र्याउँदै मुलुकको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ,’ नागाराजनले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सिडिसीसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न तथा कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा बेलायत सरकारको सहयोग रहँदै आएको बताउँदै सिडिसीले नेपालको वित्तीय संस्थालाई गरेको यो सहयोग बेलायत सरकारको साना तथा मझौला उद्यमलाई जलवायु परिवर्तनका असर न्यूनीकरणमा गरिएको सहयोग प्राप्त गर्न उनीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरे।

उनले ग्लोबल बैंकलाई सिडिसीले गरेको उक्त ऋण सहयोगले आन्तरिक व्यवसायको वित्तीय पहुँच बढाउनुका साथै आर्थिक अवसर वृद्धि गर्ने र आन्तरिक वस्तु तथा सेवाको उपलब्धता बढाउने बताए।

प्रकाशित: १ पुस २०७८ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App