अर्थ

मध्यमस्तरका होटललाई परीक्षार्थीबाट राहत

लोकसेवा आयोगको गण्डकी प्रदेश कार्यालयले स्वास्थ्य सेवाअन्तर्गत शनिबार चौथो तहको परीक्षा लिएको थियो। प्रदेश कार्यालयले पहिलोपटक लिएको यो परीक्षामा सहभागी हुन करिब २० हजार परीक्षार्थी पोखरा आएका थिए।आयोगका अनुसार परीक्षामा ७७ जिल्लाकै विद्यार्थी सहभागी छन्।

१५ दिनको अवधिमा आयोगले लिएको विभिन्न परीक्षामा सहभागी हुन एक लाख पाँच हजार विद्यार्थी पोखरा आएका छन्। परीक्षार्थीसँगै उनीहरूका अभिभावक र परिवारका अन्य सदस्य पनि पोखरा आएका छन्। त्यो आधारमा पोखरा आउनेको संख्या झन्डै डेढ लाख छ। पोखरा आएका ती विद्यार्थी कम्तीमा एक रात यहाँका होटलमा बास बसेका छन्।

आगामी महिना पनि झन्डै ६० हजार परीक्षार्थी परीक्षामा सहभागी हुन पोखरा आउँदैछन्। लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आएका परीक्षार्थीका कारण यहाँका होटलमा पाहुना छन्। मध्यमस्तरका धेरै होटल अहिले परीक्षार्थीका कारण खचाखच छन्। पोखरा क्षेत्रका ९३ वटा केन्द्रबाट ती विद्यार्थीले शनिबार परीक्षा दिएका थिए।

कम्तीमा एक रात पोखराका होटलमा बास बसेको र खानपिन गरेको हिसाबले १५ दिनको अवधिमा एक लाख बढी परीक्षार्थीका कारण पोखराको पर्यटन क्षेत्र चलायमान बनेको यहाँका व्यवसायी बताउँछन्। परीक्षा, विद्यालयको शैक्षिक भ्रमण, विभिन्न समूहको अध्ययन भ्रमण, गोष्ठी, भेला, सभा, सम्मेलनले यहाँका पर्यटन व्यवसायीलाई राहत दिएको छ। शैक्षिक संस्थाका विद्यार्थी, आमा समूह, परीक्षार्थी आउँदा मध्यमस्तरका होटलले बढी लाभ पाउने गरेको पर्यटन व्यवसायी बताउँछन्।

‘ठूला होटलले खर्चिला पाहुना पाउँदा मध्यमस्तरका होटलले अहिले घुमघामका समूह र परीक्षार्थीका कारण राहत पाएका छन्,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘कोरोनाको मार खेपेको पर्यटन क्षेत्रमा अहिले परीक्षार्थी, समूहगत भ्रमण र विद्यार्थीको घुमघामले साथ दिएको छ।’

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुई वर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन्।

ठूला आकारका होटलमा आन्तरिककै पनि खर्चिला पाहुना आउने र साना तथा मध्यममा समूहगत रूपमा आउने विद्यार्थी हुने गरेको उनले सुनाए। ‘हामी व्यवसायीले तत्कालै विदेशी पाहुना पाउँदैनौ। यो अवस्थामा आन्तरिक पाहुनाकै भरमा थेगिने हो।

यस्तै आकारमा आन्तरिक पाहुना आउने हो भने हामीलाई पनि लाभ मिल्छ,’ उनले भने। उनका अनुसार पर्यटकीय क्षेत्र लेकसाइड सहित पृथ्वीचोक क्षेत्रका सबैजसो होटल अहिले पाहुनाले भरिएका छन्। पर्यटन क्षेत्र चलायमान हुन परीक्षा पनि सहयोगी हुने उनले बताए। विद्यार्थी, आमा समूह, परीक्षार्थीको यस्तो आगमनबाट साना आकारका व्यवसायीलाई राहत पुग्ने उनले बताए। ‘गोष्ठी, सभा सम्मेलनमा बरु अलि खर्चिला पाहुना आउँछन्। तर घुमघाममा आउने र परीक्षार्थीहरू सस्तो सेवा खोज्छन्।

त्यसको लाभ साना आकारका होटललाई हुन्छ,’ उनले भने। प्रदेश लोकसेवा आयोगका प्रवक्ता कृष्णप्रसाद आचार्यका अनुसार पोखरा आएका ती विद्यार्थी कम्तीमा एक रात यहाँका होटलमा बसेका छन्। परीक्षार्थीसँगै कतिपयका त अभिभावक पनि छन्। केहीले काखे बच्चा लिएर परीक्षा दिन आउँदा सहयोगी सदस्य पनि आएका छन्। 

प्रकाशित: २७ मंसिर २०७८ ००:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App