अर्थ

किसानलाई कुपन पाउनै मुस्किल

धान बिक्रीका लागि कुपन लिन आएका किसान। तस्बिरः नागरिक

बाँकेस्थित गनापुरका किसान रामसेवक यादव धान बिक्रीका लागि कपुन लिन कृषि ज्ञान केन्द्र पुग्दा बिहानको आठ बजिसकेको थियो। उनी कृषि ज्ञान पुग्दा किसानहरूको पातलो उपस्थिति थियो। जब कुपन दिने समय आउन थाल्यो तब पातलो उपस्थित भीडमा परिणत भयो। धान बिक्रीका लागि खुसी मुन्द्रामा आएका यादवको मुहार घर फर्किंदा मुस्कान हरायो। कारण, ‘दिनभरि लाइन बस्दा पनि कुपन नपाउनु।’

‘दिनभरि लाइन लाग्दा पनि एउटा कुपन पाउन सकेन,’ उनले भने, ‘उत्पादन गरेर मात्र के गर्नु धान बिक्री गर्नै समस्या छ।’ किसानलाई धान उत्पादन गर्नुभन्दा बिक्री गर्नु कठिन भएको भन्दै उनले सहज कुपन पाउन नसकेको बताए। उनी जस्तै जानकी गाउँपालिकाका प्रवीण भगवान्ले पनि दिनभरि लाइनमा बस्दा कुपन पाएनन्।

‘दिनभरि लाइनमा थिएँ,’ उनी भन्छन्, ‘अगाडिबाट मान्छेले कुपन लिएकोलिएइ थिए। तर पछाडिको लाइन अगाडि बढेन।’ यता राप्तीसोनारी गाउँपालिका–५ बिनौनाका किसान राधेश्याम थारु कुपन लिनको लागि बिहानै ७ बजे कार्यालय पुगे पनि साँझतिर कुपन पाए। ‘भीडमा झगडा गरेर बल्लतल्ल कुपन पाइयो। सिफारिस लिने पालो कहिले आउने हो पत्तो छैन,’ उनले भने, ‘आफैँले दुःख गरेर फलाएको धान बिक्री गर्नसमेत यस्तो सास्ती भोग्नुपर्ने, जति सरकार आए पनि किसानका दुःख कहिल्यै नजाने भए।’

शुक्रबार आफैँले फलाएको धान बिक्री गर्न कुपन लिन किसानहरूले कृषि ज्ञान केन्द्र बाँकेको परिसरमा सास्ती खेप्नु परेको छ। कृषि ज्ञान केन्द्रले व्यवस्थितरूपमा लाइन व्यवस्थापन गर्न नसक्दा किसानलाई कुपन पाउन सास्ती भयो। धान भित्र्याएको लामो समयसम्म पनि धान बिक्री गर्न नपाएका किसानहरू धान बिक्रीका लागि कुपन लिन किसानहरू कृषि ज्ञान केन्द्रमा पुगेका थिए। कृषि ज्ञान केन्द्रले कुपनपछि धान बिक्रीका लागि सिफारिस दिएपछि मात्र धान बिक्री हुने छ।

‘किसानको लालपूर्जालगायतका कागज हेरेर एक किसानले कति धान बिक्री गर्ने सिफारिस दिन्छौं,’ कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले भने, ‘हाम्रो सिफारिसपछि मात्र किसानले तोकिएको धान बिक्री गर्न पाउने छन्।’ धानको कुपन वितरणमा किसानहरुको भीड भएपछि प्रहरीलगाएतर कुपन वितरण गरिएको थियो।

किसानबाट आफूहरु असुरक्षित महसुस गरेपछि प्रहरी परिचालन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यति झन्झटिलो प्रक्रिया किसानलाई भने हैरानी भएको छ। धान बिक्रीका लागि कृषि ज्ञान केन्द्रले आइतबारदेखि सिफारिस दिने उनले बताए। उनका अनुसार एउटा किसानलाई बढीमा ३० क्विन्टलसम्म मात्र बिक्रीका लागि सिफारिस दिन सकिने व्यवस्था गरिएको छ।

‘हामीलाई सरकारी प्रक्रियाले धेरै झन्झटिलो बनाएको छ,’ डुडुवा गाउँपालिकाका किसान फत्ते थारुले भने, ‘हामीलाई धान बिक्रीका लागि सजिलो बनाइदिनु पर्छ।’ ठूलो दुःखका साथ उत्पादन गरेको धान बिक्री पनि पहुँच चाहिने अवस्थाले अन्याय भएको उनको भनाइ छ। धान बिक्रीका लागि दिन लागिएको कुपन पहुँचवालालाई सहजै दिइएको र सोझा किसानलाई नदिइएको उनी बताउँछन्।

यो वर्ष मात्र होइन बाँकेका किसानलाई बर्सेनि धान बिक्री गर्न यस्तै झन्झिटिलो प्रक्रिया पूरा गर्नुपर्छ। यति गर्दा पनि किसानले आफूले उत्पादन गरेको सबै धान बिक्री गर्न पाउँदैनन्। ‘सरकारले लालपूर्जा हेरेर सिफारिस दिने भन्छ,’ कुपन लिन आएका एक किसानले भने, ‘आफूले उत्पादन गरेको भन्दा सरकारले तोके जति धान बिक्री गर्नुपर्ने अवस्था आयो।’ यसले किसानलाई झन पीडा दिएको उनी बताउँछन्।

प्रकाशित: २५ मंसिर २०७८ १५:१० शनिबार