अर्थ

एफएनसिसिआई र दराजबीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले साना तथा मझौला उद्योग (एफएमइज) का उत्पादनलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय ग्राहकसम्म सहज रूपमा पुर्‍याउने कामलाई अगाडि बढाएको छ। यसका लागि महासंघले अनलाइन बजार दराज नेपालसँग सहकार्य गरेको छ।

महासंघ र दराजबीच भएको सम्झौता पत्रमा एफएनसिसिआईका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरेका छन्। 

महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीलाई दराजको अनलाइन सपिङमा एकीकृत गरी उनीहरूका उत्पादनलाई दराजमार्फत विक्रीवितरण गरिनेछ। साना तथा मझौला उद्यम व्यवसाय मुुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको र कोभिड महामारीबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले महासंघले यसको पुनरुत्थानमा विशेष जोड दिँदै आएको जनाएको छ।

सम्झौताअनुसार दर्ता भएका साना तथा मझौला उद्योग (एसएमइज) ले एक वर्षका लागि दराजको अनलाइन सपिङमा निःशुल्क डिस्प्लेको सुविधा पाउनुुको साथै त्यसका लागि आवश्यक प्रचार, दृश्यतासँगै थप सुविधासमेत पाउनेछन्।

त्यस्तै साना तथा मझौला उद्योगलाई आफ्नो अनलाइन व्यापार वृद्धि गर्नका लागि सही शिक्षा र सिप दराजले प्रदान गर्नेछ। कोभिड–१९ प्रकोपदेखि दराजले विशेषगरी एसएमईलाई महामारीको आर्थिक प्रभावबाट पुनरुत्थान गर्ने कार्यमा सहयोग गर्न विभिन्न बिक्रेता केन्द्रित पहलको समेत सुरुवात गरेको छ।

एफएनसिसिआई र दराजबीचको यो सम्झौताको मुख्य उद्देश्य नेपालका हरेक कुनामा रहेका एसएमईज बिक्रेता तथा ग्राहकलाई एकै ठाउँमा लिएर आउने र सँगसँगै नेपालमा डिजिटलाइजेसन र ई–कमर्स क्षेत्रको वृद्धिलाई तीव्रता दिनु रहेको जनाइएको छ।

हाल दराजले काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, वीरगन्ज, जनकपुर, बुटवल, धनगढी र बिर्तामोडका १२ हजारभन्दा बढी बिक्रेतालाई सेवा प्रदान गरिरहेको छ। यी बिक्रेताले नेपालका ४७ भन्दा बढी सहरमा आफ्ना उत्पादन तथा सेवा प्रदान गरिरहेका छन्।

प्रकाशित: २४ मंसिर २०७८ ०१:४९ शुक्रबार

एफएनसिसिआई र दराजबीच सम्झौता नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)