अर्थ

‘म्यानुअलबाट अटामेटेडमा जाँदा टिडिएस दाबीमा समस्या’

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले करदाताको अग्रिम कर दाबीलाई म्यानुअलबाट अटोमेटेड प्रणालीमा जाने क्रममा द्विविधा उत्पन्न भएको भन्दै प्रस्ट पार्न आग्रह गरेको छ।

संघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशकलाई भेटी त्यस्तो आग्रह गरेको हो।

संघका अनुसार करदाताले लेखापरीक्षण शुल्कको व्यवस्था गरी एक्युरल आधारमा खर्च सम्बन्धित आय वर्षमा लेखांकन गर्छ। लेखापरीक्षकले उक्त आयको लेखांकन सेवा प्रदान गरेको आय वर्षमा गर्ने हुँदा लेखापरीक्षण खर्च र लेखापरीक्षण आय दुई अलगअलग आर्थिक वर्षमा भिडान गरेर मात्र हिसाबमिलान (रिकन्साइल) हुन्छ।

यसकारण लेखापरीक्षण खर्चको स्रोतमा कर कट्टी (टिडिएस) सम्बन्धित आय वर्षमा आयको आधारमा नभई खर्चको आधारमा गरिने विगतको परिपाटीले हाल अवलम्बन गरिएको अटोमेटेड प्रणाली अन्तर्गत लेखापरीक्षकको दाखिला गरिएको टिडिएस अल्या नहुने हुँदा लेखापरीक्षकको आय विवरण भर्दा अनावश्यक दायित्व सिर्जना हुने संघले जनाएको छ। करदाताले विगत केही वर्षका लेखापरीक्षण एकै वर्ष सम्पन्न गर्नुपर्ने अवस्थामा समस्या अझ गम्भीर हुने देखिएको संघको भनाइ छ।

करदाताको आयमा सम्बन्धित पार्टीले कर कट्टी गरी दाखिला गरेको तर समयमा इ–टिडिएस नगर्दा,गलत शीर्षकमा टिडिएस दाखिला गरिदिँदा करदाताले आय विवरण भर्न ढिला हुने अग्रिम कर दाबी गर्न नपाउने जस्ता समस्या सिर्जना भएको विषयमा पनि संघले महानिर्देशकको ध्यानाकर्षण गराएको छ। संघका अनुसार कर दाखिला भौचरको आधारमा समेत कर दाबी गर्न नमिल्ने अवस्था छ।

प्रकाशित: २४ मंसिर २०७८ ००:५२ शुक्रबार

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ आन्तरिक राजस्व विभागका महानिर्देशक लेखापरीक्षण शुल्कको व्यवस्था