अर्थ

मेक इन नेपाल अभियानमा ४० उत्पादक आवद्ध

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न नेपाल उद्योग परिसंघले सुरु भएको मेक इन नेपाल–स्वदेशी अभियानमा ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध भएका छन्।

नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने अभियानमा जोडिने क्रममा उत्पादकहरू जोडिएका हुन्।

अभियान अन्तर्गत स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसनको परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सार्वजनिक गरे। स्वदेशी अभियानमा आवद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ। यसैगरी, स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिेकेसन र वेबसाइटमा समावेश छ।

परिसंघले नेपालको व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन र देशको दीगो आर्थिक विकासको आधारशिला नै औद्योगिक विकास भन्ने मूल सन्देशसहित यो अभियान अघि बढाएको जनाएको छ।

अभियानको कार्यान्वयनसँगै देशमा औद्योगिक विकास र रोजगारी सिर्जनामा गुणात्मक परिवर्तन आउने परिसंघको विश्वास छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्यले अभियान अघि बढेको बताए। उनले स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगीकरणमा पनि टेवा दिने बताए।

अध्यक्ष अग्रवालले नेपालको औद्योगीकरणका लागि आवश्यक नीतिगत मध्यस्थताका विषयमा नेपाल सरकारलाई अध्ययनसहितको प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिए।

यसैगरी, परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको बताए। परिसंघका अर्का उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन  बढाउने र आयात प्रतिस्थापन गर्दै नियार्त वृद्धि गर्ने लक्ष्य अभियानले राखेको धारणा राखे।

नेपाली उद्योगका लागि व्यवसायमैत्री वातावरण,आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च,सेवा क्षेत्रको आधुनिकीकरण,नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग,सार्वजनिक खरिदमा स्वदेशीलाई प्राथमिकता र स्वदेशी वस्तुको निर्यात प्राथमिकतामा छन्।

स्वदेशी अभियान कार्यान्वयन गर्दै नेपालको कुल गार्हस्थ उत्पादनमा संरचनागत परिवर्तनका लागि ३४ वटा नीतिगत मध्यस्थता तय भएका छन्। वार्षिक एक हजार उद्योग दर्ता,सन् २०२५ सम्ममा कुल गार्हस्थ उत्पादनमा उद्योगको हिस्सा २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, वार्षिक एक लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र आगामी पाँच वर्षमा निर्यात ४.६ अर्ब डलर बराबरको पुर्‍याउने लक्ष्य रहेको परिसंघले जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७८ ०१:४० बुधबार

स्वदेशी उत्पादनलाई प्रोत्साहित नेपाल उद्योग परिसंघ