अर्थ

‘आर्थिक अजेन्डामा समान दृष्टिकोण बनाउनुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक अजेन्डामा सबै राजनीतिक दलहरूले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्।

महासंघका उपाध्यक्ष ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड–१९ महामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थान गर्न सबै राजनीतिक दलहरूको समान अवधारणा आवश्यक पर्ने बताए। ‘अहिले अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको छ। जुन रूपमा सुधार देखिएको छ, त्यसलाई रोकिन दिनुहुन्न। सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,’ उनले भने, ‘यसका लागि सबै राजनीतिक दलहरूको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ।’

उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तव्य निर्माण भइरहेको र त्यस्ता परियोजनामा स्थानीय उद्योगी,व्यवसायी तथा सर्वसाधारणसँग समेत सहकार्य हुने बताए।

प्रकाशित: २१ मंसिर २०७८ ०१:४७ मंगलबार

नेपाल उद्योग वाणिज्य महासंघ प्रमुख राजनीतिक दल आर्थिक अजेन्डा समान दृष्टिकोण बनाउनुपर्छ