अर्थ

मूल्य नपाउँदा अदुवा बारीमै

डोटीको बोगटान क्षेत्रका किसानले नदगे बाली अदुवा भित्र्याउन सकेका छैनन्। बजारमा उचित मूल्य नदेखेपछि उनीहरूले अदुवा ननिकालेर बारीमै छोडिदिएका हुन्। 

गत वर्षको तुलनामा अदुवाको मूल्यमा गिरावट आएपछि अदुवा बारीबाट निकाल्न छोडेको बताउँदै बडिकेदार–५ धमीगाउँकी किसान इन्द्रादेवी चन्दले भनिन्, ‘गत वर्षको तुलनामा ५० प्रतिशतले मूल्य घटेपछि अदुवा बारीमै छोडिदिएकी छु।’ गत वर्ष उनले ४० रूपैयाँ केजीमा अदुवा बेचेकी थिइन्।

 अहिलेसम्म २० रूपैयाँ केजीमा पनि अदुवा नबिकेको बताउँदै उनले थपिन्, ‘अहिले त व्यापारीले २० रूपैयाँ केजीमा पनि किनिरहेका छैनन्।’ उनले निराश हुँदै कृषकको मिहिनेतको फल नै नपाइने गुनासो गरिन्।

अघिल्लो वर्ष अदुवामा राम्रो आम्दानी देखेपछि बोगटान क्षेत्रका धेरै कृषकले मकै लगाउन छाडेर अदुवा लगाउँदै आएका थिए। ‘मकै लगाउने जमिनमा अदुवा लगाइयो,’ बडीकेदार–४ मान्नाकापडीका स्थानीय राम मौनी भन्छन्, ‘यसैपालि अदुवाको मूल्य घट्यो।’ सरकारले अदुवाको मूल्य निर्धारण गरिदिए सहज हुने उनको भनाइ छ। ‘सरकारले कृषिमा लगानी गर्छ, किसानले उत्पादन गरेको फसलमा भने मूल्य नतोकिदिँदा बिचौलियाका कारण हामीलाई घाटा हुने गरेको छ,’ उनले भने। 

बोगटान क्षेत्रमा अदुवा खेतीमा आकर्षित गर्न तमामौ सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गरे पनि अहिले फसलमा मूल्य निर्धारणका लागि कसैले पहल नगरेको उनीहरूको गुनासो छ। ‘अदुवा खेती गर्नका लागि संघसंस्थाले लालायित पारे,’ बर्छैनका वीरबहादुर भुलले भने, ‘अहिले मूल्य घट्दा कसैले वास्ता गरेनन्।’ छिमेकीले पनि यसपालि मकै छर्ने खेतमा अदुवा लगाएको बताउँदै उनले थपे, ‘केही नभए पनि मकै खाएर त बाँचिन्थ्यो, यसपालि त्यो पनि भएन।’  

विगतमा थोरै मात्र बारीमा अदुवा लगाएर अन्य ठाउँमा मकै, धान, कोदोजस्ता खाद्यान्न बाली लगाउने बोगटान क्षेत्रका किसान पछिल्लो समय आधुनिक कृषिमा लागेपछि धान, मकै थोरै मात्रै लगाउने र अधिकांश जमिनमा नगदे बालीका रूपमा अदुवा खेती लगाउने गरेको बडिकेदार–४ का नरेन्द्रबहादुर ताडीले बताए। तर सोचेजस्तो बजार मूल्य नपाउँदा यसपटक भने किसान बारीमा लगाएको अदुवा बारीमै कुहिने हो कि भन्ने चिन्तामा परेको उनी बताउँछन्।  

अहिले अदुवाको बजार मूल्य देखेर डोटीका किसानमा निराशा छाएको देखिन्छ। ‘यो पटक बजारमा अदुवाको मूल्य नै छैन,’ ताडीले भने, ‘त्यही पनि सस्तोमै बेच्न खोज्दासमेत कुनै व्यापारीले किनिरहेका छैनन्।  

भारतमा अत्यधिक अदुवा फलेकाले बजार सस्तिएसँगै यहाँको अदुवाको बजार प्रभावित बनेको व्यापारी बताउँछन्। डोटीको अदुवाको बजार भनेकै भारत रहे पनि पछिल्लो समय भारतीय व्यापारीले लान छाडेको र स्थानीय बजारमै खपत गराउन थालेपछि मूल्यमा गिरावट आएको स्थानीय रोज कलेल बताउँछन्। ‘यहाँको अदुवा भारतमा निकासी नभएकाले मूल्य नपाइएको हो,’ उनले भने, ‘यसपालि भारतीय व्यापारीले अदुवाको मूल्य घटाइदिएकाले उचित मूल्य पाउन नसकिएको हो।’

प्रकाशित: १८ मंसिर २०७८ ०७:५२ शनिबार

नदगे बाली अदुवा अदुवाको मूल्यमा गिरावट