अर्थ

अबैध मोबाइल आयातलाई रोक्छौः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन्। नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताए।

अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात मोवाइल फोन बन्द हुने विश्वास समेत व्यक्त गरे। ‘विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरु माथि अन्याय हुन्छ। एउटा ल्याउन दिएमा एउटाबाट अर्को एयटा हुदै धेरै हुने समस्या उत्पन्न भएको छ।’ मन्त्री थापाले भने, ‘अहिले ३० प्रतिशतसम्म मोवाइल फोन अबैध रुपमा आयात हुने गरेको छ। यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ।’

अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए। उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने बताउँदै उनले नेपालमा नै मोवाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह समेत गरे। जसकालागि कर छुट देखि अन्य धेरै सुविधा दिन सरकार तयार रहेको बताए। अर्थमन्त्री शर्माले भने, ‘मोबाइल व्यवसायीले पनि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ। नेपाली ब्राण्डको मोबाइल फोन उत्पादन गर्ने व्यवसायी तयार हुनुपर्छ। अब व्यवसायीले आयात पनि गरेर पनि बेच्ने र उत्पादनमा पनि लगानीको सुरुवात गर्नु पर्छ। बैंक तथा वित्तीय संस्थाले पनि आयातमात्रै नभएर उत्पादनका उद्योगमा पनि लगानी गर्ने आवश्यक छ। त्यसको लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गर्नुपर्छ। सबै व्यवसायी क्षेत्र उत्पादनको क्षेत्रमा लाग्दा त्यहीबाट अर्थतन्त्र सुधार हुनसक्छ।’

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन बिलाशिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए। उनले व्यवसायी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँग सँगै सहकार्य र लगानी गर्ने तयार रहेको बताए।

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार देखि काठमाडौंमा सुरु भएको हो।

प्रकाशित: १५ मंसिर २०७८ ११:०६ बुधबार

अर्थमन्त्री