अर्थ

निर्णय फिर्ता लिन विज्ञापन बोर्डसँग माग

नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, विज्ञापन बोर्डले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण, प्रचारप्रसार नपाउने गरी जारी गरेको विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ, चुरोट उद्योग संघ र अखिल नेपाल फुुटबल संघले गम्भीर ध्यानाकर्षण गराएका छन्।

मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकतर देशमा खुला रहेको सन्दर्भमा मदिरालाई खाद्य वस्तुकै रूपमा लिने गरेको तर यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ। 

तर यसको विज्ञापन प्रसारण र प्रकाशनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव जस्तै भएको उल्लिखित संस्थाहरूले जनाएका छन्। नेपालमा विश्वभरबाट मदिरा आपूर्ति हुने गरेको सर्वविदितै छ। 

साथै यस्तोमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाए पनि विदेशी मिडिया वा सामाजिक सञ्जालमार्फत विज्ञापन गरी नेपाली उपभोक्तामाझ प्रवद्र्धन गर्ने विकल्प कायमै रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ मंसिर २०७८ ०३:४० बुधबार

नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय विज्ञापन बोर्ड