अर्थ

पदयात्रा व्यवसायीको सकसः आफू जोगिने की मजदूर जोगाउने ?

कास्कीको मर्दी हिमाल पदयात्रामा रहेका पर्यटक। फाइल तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणका कारण पर्याप्त विदेशी पर्यटक भित्रिएका छैनन्। विदेशी पाहुना नहुँदा पदयात्रा व्यवसायीको व्यवसाय ठप्प छ। आन्तरिक पर्यटकका कारण पर्यटनका अरु क्षेत्र धेरथोर चलायमान बनिसकेपनि विदेशी पाहुनाको भरमा टिकेको पदयात्रा व्यावसाय भने अझै चलायमान बन्न सकेको छैन। आफ्नो व्यावसाय जोगाउने वा मजदुर जोगाउने भन्ने चूनौती थपिएको व्यावसायी बताउँछन्।  

व्यवसायीका अनुसार आन्तरिक पाहुनाको भरमा पदयात्रा व्यावसाय चल्दैन। किनभने आन्तरिक पाहुनाले फाट्टफुट्ट बाहेक सहयोगी लैजाँदैनन्। सहयोगी नलैजाने र आफुखुसी पदयात्रामा जाने हुँदा आन्तरिकबाट पदयात्रा व्यवसायीलाई उत्तिसारो लाभ पुग्दैन। पदमार्ग क्षेत्रका होटल व्यावसायीले आन्तरिक पाहुनाबाट कमाउन सकेपनि पदयात्रा व्यावसायीको व्यावसाय भने उकासिन सक्दैन। विदेशी पाहुना नभित्रिएसम्म पदयात्रा व्यवसायी पाहुनाविहीन रहिरहने उनीहरुको भनाई छ।  

व्यवसाय चल्ने अवस्था नहुँदा व्यावसायी नै बिस्थापित भईरहेको पदयात्रा क्षेत्रका जानकार बताउँछन्। पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष धर्मराज पन्थी भन्छन्, ‘पदयात्रा व्यवसायी विदेशी पर्यटनमा मात्र निर्भर छ। आन्तरिक पाहुना पदयात्रामा जाँदा सहयोगी गाईड लैजाँदैनन्। विदेशी पाहुना गाइड र पोर्टर बिना पदयात्रामा जाँदैनन। तर, आन्तरिक आफै जान्छन्।’

उनका अनुसार एकाध आन्तरिक पाहुनाले मात्र सहयोगी लैजाने भएपनि अधिकांश एक्लाएक्लै वा समुहमा जाने भएकोले गाइड र पोर्टरको खोजी हुँदैन। आन्तरिक पाहुना आफैले पदयात्रामार्गमा बसोबास र खानपिनको व्यवस्था गर्छन। त्यसले गर्दा पदयात्रा व्यवसायीको भूमिका खासै हुँदैन।

आन्तरिक पाहुना आफु अनुकुल पदयात्रामा जाने र सहयोगी समेत नलैजाने भएकोले उनीहरुबाट व्यवासायीलाई आम्दानी नहुने पन्थीले बताए। उनका अनुसार विदेशी पाहुना नभित्रिएसम्म पदयात्रा व्यवसायीको व्यवसाय धानिँदैन। जसको मारमा व्यवसायी छन्। कोरोना संक्रमणका कारण झन्डै ३० प्रतिशत पदयात्रा व्यवसाय बन्द भएको र मजदुर पलायन भएको पन्थीको भनाई छ। ‘पदयात्रा व्यवसायीको सबैभन्दा ठुलो चिन्ता नै बिस्थापितको छ। आन्तरिक पाहुनाले पदयात्रा व्यवसायीलाई खोज्दैनन, विदेशी पाहुना आउँदैनन,’ उनले भने, ‘कतैबाट पनि सहयोग छैन । आन्तरिक पाहुनाका कारण अरु क्षेत्र चलायमान बनेपनि पदयात्रा व्यवसाय भने हुन सकेको छैन।’

पदयात्रा व्यवसाय बन्द हुँदै जानु र दक्ष जनशक्ति पलायन हुनु भविश्यका लागि पनि चूनौतीपूर्ण रहेको उनले बताए। ‘कामको सुनिश्चितता नहुँदा पलायन हुने क्रम बढेको छ। पदयात्रा व्यवसायलाई टिकाइरहन क्याम्पिङ ट्रेक संचालन गर्नुपर्छ,’ उनले भने। उनका अनुसार पछिल्लो समय पदमार्गका ठाउँठाउँमा होटल बनेकोले क्याम्पिङ टे«क पनि बन्द भएका छन्। टानको अनुमानमा गण्डकी प्रदेशमा करिब दुईहजार पदयात्रा मजदुर छन्।  

टानका पूर्व अध्यक्ष डम्बर केसी पनि पर्वतीय पर्यटन कहाँबाट सुरु गर्ने भन्ने अन्योल रहेको बताउँछन्। ‘पर्वतीय पर्यटन कहाँबाट सुरु र कहाँबाट अन्त गर्ने भन्ने नै छैन,’ केसीले भने, ‘विदेशी पाहुना आएका छैनन। आन्तरिक पाहुनाको भरमा पदमार्गका होटल व्यवसायीलाई मात्र लाभ पुग्ने हो। विदेशीको भरमा थेगिएका पदयात्रा व्यवसायी चल्द सक्दैनन।’ उनले पनि पर्वतीय पर्यटन क्षेत्रका दक्ष मजदुर पलायन हुनु चिन्ताको विषय रहेको बताए।  

‘पदयात्रा क्षेत्रमा लागेका मजदुर बिस्थापित भए। उनीहरु मध्ये केही खेतीपातिमा लागे भने कतिपय खाडि मुलुक भासिए। कतिपय पशुपालनमा लागेको छन,’ उनले भने, ‘तत्कालै उनीहरुलाई काममा फर्काउन सकिने अवस्था छैन। पदयात्रा व्यावसायमा निश्चितता नदेख्दा मजदुर बढी मारमा परेका छन्।’ उनका अनुसार विदेशी पाहुना भित्रिएको खण्डमा पनि अब उनीहरुका लागि आवश्यक गाइड र पोर्टर अभाव हुने अवस्था छ। ‘पुराना र दक्ष मजदुरलाई हामीले रोकिराख्न सकेनौ। अब विदेशी भित्रिदाँ पनि मजदुर अभावमा सकस हुने देखिएको छ,’उनले भने।  

पदयात्रा पर्यटन व्यवसाय बढी धरासायी बनेको भन्दै सरकारी सहयोगको खाँचो रहेको उनले बताए। पोखरामा र पदयात्रा व्यवसायीको छाता संस्था टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरको २८ औं वार्षिक साधारणसभामा पूर्व अध्यक्ष केसीले भने, ‘संस्था नवीकरणको झन्झटदेखि बैंक वित्तीय संस्थाको ब्याजदरको चर्काे मारमा हामी परेका छौ। विदेशी पाहुना नआएसम्म पदयात्रा पर्यटन चल्दैन। तत्काल विदेशी पाहुना आउने सम्भावना छैन। विदेशी पाहुना आउने दिन कुर्दा व्यवसाय झनै थला पर्ने भयो। मजदुर पलायन हुने क्रम उस्तै छ।’  

पोखरा पर्यटन परिषद् (पिटिस)का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय हिसावले गण्डकी प्रदेशलाई जोगाउनका लाग प्रदेश सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए। उनले पदयात्रा व्यावसाय जोगाउन हम्मेहम्मे भएको बताए। मोटरबाटोका कारण धेरैतिरका गन्तव्य खुम्चिएको उनले बताए। ‘अब केही गाउँ नै रोजेर कम्तिमा ५० वर्ष मोटरबाटो पु¥याउँदैनौ भनेर ती गाउँको प्रवद्र्धन गर्न सके मात्र पदयात्रा व्यावसाय जोगिन्छ, नत्र समस्या थपिनेमा दुइमत छैन,’ उनले भने।  

टानका अध्यक्ष सुशीलराज पौडेलले पुराना र चल्तीका कतिपय रुट अहिले हराउने अवस्था आएकोमा चिन्ता जनाए। उनले बैकल्पिक पदमार्गको अध्ययन, अनुसन्धान, खोज एवं प्रबद्र्धनात्मक कार्यक्रम गरिहेको भएपनि मोटरबाटोबाट ती क्षेत्र जोगाउन कठिन भएको बताए। ‘पदयात्रा क्षेत्रमा अहिले आन्तरिक पाहुना पुगेका त छन्। आन्तरिक पाहुनाको कारण पदमार्गका होटल धानिएका छन, त्यो सकारात्मक पक्ष हो, तर विदेशी नआएसम्म पदमार्गका होटलले पनि कमाउन सक्दैनन भने हामी विदेशीलाई प्याकेजमा पदयात्रा गराउने व्यवसायी पनि धानिन सक्दैनौ,’ पौडेलले भने, ‘मजदुर पलायन रोक्न पनि मुस्किल छ। कोरोना संक्रमणले थला परेको पर्वतीय पर्यटन उठाउन हम्मेहम्मे भएको छ।’

प्रकाशित: ४ मंसिर २०७८ १०:३३ शनिबार

पदयात्रा व्यावसायी ट्रेकिङ एजेन्सीज