अर्थ

विज्ञापन रोक्ने विज्ञप्तिप्रति तीन संस्थाको आपत्ति

नेपाल विज्ञापन बोर्डले कात्तिक २५ गते बिहीबार जारी गरेको विज्ञप्तिप्रति नेपाल मिडिया सोसाइटी, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल र नेपाल विज्ञापन संघले आपत्ति जनाएका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी त्यसमा आपत्ति जनाएका हुन्।विज्ञापन उद्योग कोभिडपछि विस्तारै अगाडि बढ्दै गरेको बेला कुनै ऐनको हवाला दिएर सरोकारवालासँग सामान्य छलफल समेत नगरी भइरहेको विज्ञापन रोक्ने विज्ञप्ति आउनु दुखद कुरा भएको उनीहरूले जनाएका छन्।

‘कोभिडको मारबाट थलिएको मिडिया र विज्ञापन उद्योगलाई व्यवसाय नै गर्न बर्जित गर्ने गरी विज्ञप्ति आउनु घोर आपत्तिको कुरा पनि हो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

व्यवसायीबाट करोडौं असुलेर वस्तु वा सेवा उत्पादन अनुमति दिने, आयात गर्न दिने, बिक्री वितरण गर्न दिने, उत्पादन उपभोग गर्न पनि दिने, त्यसैबाट अर्बौं राजस्व उठाउने, अनि त्यसको विज्ञापन गर्न चाहिँ अपराध हुने कुरा न्यायसंगत हुन नसक्ने उनीहरूको तर्क छ।

कोरोना महामारीको सबैभन्दा ठूलो असर आमसञ्चार क्षेत्रमा परेको भन्दै विज्ञापनमा रोक लगाउने कदमबाट मिडिया उद्योगलाई आघात पुग्ने बताइएको छ।

 मिडियामा भइरहेको विज्ञापन समेत गर्न नपाइने नीतिको उत्पादनको प्रयोग र यसले पार्ने असरसँग कुनै सम्बन्ध नभएको उनीहरूको तर्क छ। विज्ञापन नियन्त्रण गर्ने बोर्डको नीतिले अवैध, विषाक्त, गुणस्तरहीन उत्पादनको उपभोगलाई बढावा दिने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० कार्तिक २०७८ ०३:३४ मंगलबार

नेपाल विज्ञापन बोर्ड संयुक्त विज्ञप्ति जारी