अर्थ

विज्ञापन बोर्डको विज्ञप्तिप्रति आनको आपत्ति

विज्ञापन बोर्डले हालै जारी गरेको विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन)ले आपत्ति जनाएको छ। विज्ञापन उद्योग कोभिडपछि विस्तारै अगाडि बढ्दै गरेको बेला बोर्डबाट ऐनको हवाला दिएर देश, काल, परिस्थितिको आकलन र सरोकारवालासँग सहकार्य नगरी विज्ञप्ति आउनु दुःखद कुरा रहेको आनले जनाएको छ।

एकातर्फ सरकारले राजस्व दोब्बर गर्ने लक्ष्य राख्नु, अर्कातर्फ भइरहेको व्यापार, व्यवसायमा असर गर्ने गरी विज्ञप्ति आउनु विरोधाभाषपूर्ण रहेको संघको भनाइ छ। ‘आन्तरिक तथा बाह्य पर्यटनसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रबाट राज्यले अर्बौं राजस्व लिइरहेको छ,तर यी यावत कुरालाई नजरअन्दाज गर्दै यसको विज्ञापनमा रोक लगाउनु सरासर विज्ञापन व्यवसायसँग सम्बन्धित समस्त सञ्चार उद्यमी, विज्ञापनदाता तथा विज्ञापन व्यवसायीलाई कुठाराघात हो,’ संघले भनेको छ। ऐन, नियम, कानुन, कार्यविधि र त्यसका व्यवहारिक पक्ष सँगसँगै लैजानुपर्ने र राज्यको ऐन, नियम, कानुन देश, काल र परिस्थिति अनुकूल नभएमा स्वाभाविक रूपमा प्रयोग र उपयोगविहीन भएर जाने संघले सम्झाएको छ।

विज्ञापन क्षेत्रमा भइरहेको अर्बौं लगानी, सिर्जित रोजगारी, राजस्वमा योगदान तथा विज्ञापनको माध्यमबाट सम्पादकीय स्वतन्त्रता रक्षा गरी नागरिकलाई सञ्चार गृहको माध्यमद्वारा सुसूचित गराउने विषयवस्तुलाई विज्ञापन बोर्डको विज्ञप्तिले निश्चित रूपमा असर गर्ने संघको भनाइ छ। 

प्रकाशित: २९ कार्तिक २०७८ ०५:०२ सोमबार

विज्ञापन बोर्ड विज्ञापन संघ