अर्थ

पोखराः पर्यटक बसपार्कको कन्तविजोग

बसपार्कमा फोहरको डंगुर

शौचालयमा ताला

पोखराको राष्ट्रबैंकचोकिस्थत पर्यटक बसपार्कमा थुप्राइएको फोहर। तस्बिरः उमेश पुन/नागरिक

सबैतिरबाट भित्रिएका पर्यटक बस आएर रोकिने र यात्रु ओराल्ने तथा चढाउने थलो हो राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्क। सिजनको बेला दिनहुँ सयौं पर्यटक यही बसपार्कबाट आउजाउ गर्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनु अघि पोखरा आएका विदेशी र स्वदेशी पाहुनाको सिजनका बेला यो बसपार्कमा बिहान र दिउँसो भीडभाड हुन्थ्यो। अहिले आन्तरिक पाहुनाको भीड।

दिनहुँ सयौं विदेशी र स्वदेशी पाहुना आउजाउ गर्ने यो बसपार्कको अवस्था कन्तविजोग छ। लामो समय धुले र हिले अवस्थाको यही मैदान (अहिले बसपार्क बनेको ठाउँ) मा यहाँका पर्यटन व्यवसायीले बस अड्याएर यात्रुलाई सेवा दिईरहेका थिए। पोहोरसम्म हिले र धुले रहेको यो बसपार्कको मैदान अहिले ढलान भने गरिएको छ। पर्यटन व्यवसायीले बारम्बार व्यवस्थित पर्यटक बसपार्क माग गरेपछि यही ठाउँमा पर्यटन मन्त्रालयले बसपार्क त बनाईदियो। तर, त्यो बसपार्क अधुरै अवस्थामा संचालनमा आएको छ।

अधुरै अवस्थामा संचालनमा आएको यो बसपार्कको अवस्था झनै अस्तव्यस्त छ। अघिल्ला वर्षजस्तो उत्तिसारो हिलो र धुलो नभएपनि फोहरले यात्रुले नाक छोपेर रोकिनुपर्छ। यतिसम्मकी बसपार्कभित्र बस चढ्न जाने यात्रुले शौचालय समेत प्रयोग गर्न पाएका छैनन्। बनाइएको शौचालयमा ताला लगाइएको छ। फोहर जथाभावि फ्याक्ने गरिएको छ। पानी परेको अवस्थामा बसबाट आउजाउ गर्ने यात्रुले भिज्दै आउजाउ गर्नुपर्छ।

यात्रुले फ्याकेका पानीका बोटल र प्लाष्टिक यत्रतत्र छरिएका छन। धुलो उत्तिकै छ। फोहरको थुप्रो लागेपछि पर्यटन व्यवसायीले आफ्नै पहलमा प्लाष्टिकका थैलोमा फोहर पोको पारेपनि उठाइएको छैन। अहिले फोहरको थुप्रोले यात्रुलाई गिज्याइ रहेको छ।

‘पर्यटक बसपार्क पनि भन्न नमिल्ने अवस्था छ। चारैतिर फोहरले बसपार्क क्षेत्र दुर्गन्धित बनेको छ,’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (एजेन्टस)नाट्टाका पूर्व अध्यक्ष केदार शर्माले भने, ‘हिजो हिलो र धुलोका कारण सास्ती थियो। अहिले हिलो र धुलो केही कम भएपनि फोहरले अस्तव्यस्त पारेको छ।’ यात्राको तयारीमा रहेका र दिनभर यात्रा गरेर ओर्लेका यात्रुले शौचालय समेत प्रयोग गर्न पाउँदैनन। बनेका शौचालय पनि बन्द छन्। ‘सकेसम्म यात्रुलाई बसपार्कमै बोलाउनु नपरे हुन्थ्यो भन्ने अवस्था छ। दुर्गन्धका कारण उस्तै समस्या छ। सबैभन्दा बढी सास्ती त शौचालय नभएर हो,’ उनले भने, ‘शौचालय खोज्दै यात्रुहरु नजिकका होटलमा पस्नुपरेको छ।’

नगर विकास समिति मातहतको राष्ट्रबैंकचोकस्थित १८ रोपनी जग्गामा यो बसपार्क बनेको छ। लामो समयदेखि यो जग्गा बसपार्कको रुपमा उपयोगमा थियो। बसपार्क भनिएपनि खुला र धुलेचौर भएका कारण वर्षा र धुलोमा पर्यटकले सास्ती खेप्नुपर्दथ्यो। वर्षामा हिलो र हिउँदमा धुलोको सामना पर्यटकले गर्दै आएका थिए। पोखराबाट काठमाडौं, चितवन, लुम्बिनीसम्म जाने पर्यटक त्यही धुले र हिलाम्य बसपार्कमा पुगेर गन्तव्यका सवारीमा चढ्ने गरेका थिए। खुला आकाश मुनिको बसपार्कमा पानी परेको बेला सबैभन्दा सास्ती थियो। गाडीबाट ओर्लेका वा गाडी चढ्ने बेलामा पर्यटकले हिलो र धुलोमा झोला लतार्दै आउजाउ गर्नुपर्दथ्यो। त्यही समस्या समाधान गर्न भन्दै पूर्वाधार बनाइएपनि अधुरै छाड्दा झनै अस्तव्यस्त बनेको छ।

नाट्टाका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार यतिबेला यो बसपार्कबाट दैनिक कम्तिमा एकदर्जन बस विभिन्न रुटमा छुट्छन। कोरोना संक्रमण सुरु हुनुअघि सवारीको यो संख्या झन्डै दुईदर्जन थियो। कोरोनाले पर्यटक घटेपछि विभिन्न रुटमा चल्ने सवारीको संख्या घटेको छ। ‘हामीले लामो समयदेखि यही जग्गालाई बसपार्कको रुपमा प्रयोग गरेका थियौ। धुले र हिले चौरलाई व्यवस्थित बसपार्क बनाउनु पर्छ भनेर दवाव दिएपछि बनाउन थालियो, तर, अहिले उत्तिकै अस्तव्यस्त छ,’ सिग्देलले भने, ‘कम्तिमा संरचना बनाएर यसलाई व्यवस्थित रुपमा उपयोग गर्नुपर्ने हो। तर, अपुरै अवस्थामा छाडिएको छ।’

उनका अनुसार बसपार्क बनाउन थालेपछि व्यवसायीले नजिकैको खुला मैदानमा बस राख्ने गरेका थिए। अहिले अन्यत्र भन्दा कम्तिमा बसपार्कको क्षेत्रभित्र राखौ भनेर पार्किङ गरेको भएपनि व्यवस्थापन गतिलो हुन नसकेको उनले बताए। ‘हामीले सडकमा रोक्नु भन्दा बसपार्कभित्र राख्दा केही सुरक्षित ठानेर राखेका हौ। तर, बसपार्क अधुरै छ,’ उनले भने।

सबैभन्दा बढी सास्ती यात्रुले पानी पर्दा, हावाहुरी चल्दा र शौचालय प्रयोग गर्न नपाउँदा भएको उनले बताए। ‘हामीले कम्तिमा शौचालय खुला गरौं भनेर पोखरा महानगरपालिकालाई भनेका छौ। तर, सुनुवाई भएको छैन,’ उनले भने, ‘अस्तव्यस्त मात्र छ।’ सबैतिर फोहर थुप्रो लागेपछि व्यवसायीले पैसा उठाएर फोहरलाई पोको पारेर व्यवस्थापन गर्ने तयारी भएको उनले बताए  ‘बरु फोहरको व्यस्थापन हामीले गर्छाै, बसपार्कका संरचना अधुरो नछाडौं भनिरहेका छौ। तर, सुनुवाई भएन,’ उनले भने।

उनका अनुसार गत वैशाखदेखि यही बसपार्कमा बस पार्किङ गर्न थालिएको हो। बसपार्क कसले संचालन गर्ने भन्ने पनि यकिन नभएको उनले बताए। बसपार्कको गेट बनाउने, सौन्दर्यकरण गर्ने, यात्रु प्रतिक्षालय बनाउने लगायतका काम बाँकी रहेको उनले बताए।

बसपार्क बनाउन पर्यटन विभागले पाँचकरोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ। विभागका इन्जिनियर सचिन्द्र यादवका अनुसार पहिलो चरणको संरचना विभागले बनाएको हो। त्यसका लागि पाँचकरोड रुपैयाँ बढि खर्च भइसकेको छ। बाँकी संरचना बनाउन विभागसँग बजेट नभएको उनले बताए। ‘पहिलो चरणको काम सकिएको हो। दोश्रो चरणका पूर्वाधार बनाउन हामीसँग बजेट छैन। पोखरा महानगरले यसबारेमा सोच्नुपर्ने हो,’ यादवले भने, ‘महानगरले चाँसो लिएमा बसपार्क हस्तान्तरण हुनेछन्। त्यसपछि महानगरले संचालनमा ल्याउनेगरि व्यवस्थापन गर्न सक्छ।’

‘पहिलो चरणको काम हामीले सकेका छौ। अझै एउटा भवन बनाउनु पर्ने छ। त्यसबाहेक सौन्दर्यकरण र बाँकी रहेका सबै काम दोश्रो चरणको हो,’ उनले भने, ‘हस्तान्तरण नै नभएको बसपार्कमा गाडी रोक्नु नै कमजोरी हो। अपुरै संरचना रहेको ठाउँमा गाडी रोकेर सबै सुविधा नपाउन सकिन्छ।’

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली भने महानगरभित्रको सम्पत्ति भएकोले महानगरले चाँसो दिनुपर्ने बताउँछन्। ‘यो हाम्रो (महानगर)को दायित्व हो। भौतिक संरचना बनाउने र व्यवस्थापन गर्ने जिम्मा हाम्रो पनि हो,’ उनले भने, ‘दिनहुँ सयौं स्वदेशी र विदेशी पाहुना आउजाउ गर्ने बसपार्कलाई अपलत्र पर्न दिन्नौ। महानगरले कुनै रुपमा व्यवस्थापन गर्छ।’

प्रकाशित: २७ कार्तिक २०७८ १०:०२ शनिबार

पर्यटक बसपार्क पोखरा