अर्थ

मदन भण्डारी लोकमार्गः गाईघाट–बेलटार खण्डका ५ खोलामा नयाँ पुल थपिँदै

लामा खोलामा स्ल्याब ढलानको अन्तिम तयारीमा पुगेको पुल। तस्बिरः महेश्वर

उदयपुरलाई चिरेर निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बेलटार खण्डमा पर्ने ५ वटा खोला खहरेहरुमा नयाँ पुल बन्दैछन्। राष्ट्रिय महत्वको आयोजना यो लोकमार्ग निर्माण हुनुपूर्व डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउँदा प्राविधिक इस्टीमेटमा पुल बनाउन छुटेका बिभिन्न खोला खहरेमा पुल बनाउन थालिएको हो।

हेर्दा सामान्य लाग्ने ती खोला खहरेहरु वर्षायाममा बाढी उर्लेर यातायात आवागमन रोकिने गरेका कारण थप पुल बनाउनु पर्ने आवश्यक्ता परेपछि पुनः सर्भे गरेर पुल बनाउन थालिएको हो। लोकमार्ग निर्माण लगभग अन्तिम चरणमा पुगेसँगै यातायात सञ्चालनमा आएपछि ती खोला खहरेहरु वर्षायाममा बाढी आउँदा गाडी तर्नै नसक्ने अवस्था थियो।

हिउँदेयाममा सुख्खाजस्तो देखिने तर, सामान्य वर्षामै बाढी उर्लेर आउने गर्दा घण्टौँ यातायात रोकिने तथा साना सवारीसाधन डुब्ने र बगाउने गरेपछि ती खोला खहरेमा पुल थप्नुपर्ने बाध्यता सरकारले देखेको हो। हल्का वर्षाकै बाढीले यातायात रोक्ने र कहिलेकाँही ३/४ दिन पर्ने अविरल वर्षाले त महिना दिनसम्म आउजाउ रोकिन नदिन डिपिआर संशोधन गर्नु परेको मदन भण्डारी लोकमार्ग योजना कार्यालय उदयपुरले जनाएको छ।

संशोधिन डिपिआर अनुसार सदरमुकाम गाईघाटदेखि चौदण्डीगढी नगरपालिका ३ को बसाहासम्म ५ वटा थप पुल बनाउने निर्णय भएको योजना प्रमुख (डिई) गोपाल खकुरेलले बताएका छन्। उनका अनुसार चौदण्डीगढी ४ को लामा खोला, ३ को सुन्दरी खोला, ९ को ज्यामिरे र ९ कै खैराहा तथा त्रियुगा नगरपालिका १३ को असारी खोलामा पुल थप्ने गरी डिपिआर संशोधन भएपछि पुल निर्माणको काम अघि बढेको छ।

खकुरेलले लामा खोलामा गतवर्ष नै काम सुरु गरेर अहिले ६० प्रतिशत हाराहारी पुल बनिसकेको बताए। गत आर्थिक वर्ष सुरु लामा खोला निर्माणाधीन पुलको एउटा स्पाम गत जेठमै ढलान भईसकेको छ भने अर्को स्पाम ढलानको तयारीमा पुगेको छ। बसाहाकै बँदेलपानीस्थित सुन्दरी खोलामा बन्ने एक स्पामको पुल पनि एउटा पिल्लर निर्माण भईसकेको छ भने अर्को पिल्लर ढलानको तयारीमा पुगेको खकुरेलले बताए।

लामा खोलामा ८० मिटर, ज्यामिरेमा ५० मिटर र सुन्दरी खोलामा ३० मिटर लामो पुलको काम एउटै कम्पनीले निर्माण गरिरहेको छ। डिई खकुरेलले तीनवटै पुल बनाउन सपना–हिमदुङ–थोकर जेवीले ३१ करोड ३३ लाख ९० हजार रुपैयाँमा ठेक्का लिएको र हालसम्म समग्र प्रगति ५० प्रतिशत भएको बताएका छन्।

यता गत जेठ–असारमै निर्माण सुरु भएको ज्यामिरे खोलाको एक स्पामको पुल पनि दुवै पिल्लर असारमै निर्माण भईसकेको छ। दसैं, तिहार र छठले केही दिन रोकिएको काम अब स्ल्याब ढलान गर्ने गरी सुचारु गरिने छ। यता खैराहा र असारी खोलामा भने पुल निर्माणको काम सुरु हुनै बाँकी छ। त्यसका लागि प्राविधिक इस्टीमेट भईरहेको कार्यालयले जनाएको छ। सामान्य देखिने यी खहरे खोलामा वर्षायाममा उर्लने बाढीले पूर्व–पश्चिम महेन्द्र राजमार्गको एक मात्र विकल्प बनेको मदन भण्डारी लोकमार्गमा यातायात आवागमन अवरोध गर्ने गरेकाले छिट्टै पुल बनाउनुपर्ने स्थानीयको माग छ।

वर्षायाममा अत्यन्त ठूलो समस्या उत्पन्न हुने गरेको चौदण्डीगढी ४ बर्खेडाँडास्थित लामा खोलाको पुल छिट्टै सक्ने लक्ष्य लिएर काम थालिएकोमा कोभिडका कारण ढिला हुन गएको डिई खकुरेलले बताए। चौदण्डीगढी नगरपालिकाले पुल नबनेसम्म बाढीको कहर छेक्नका लागि लामा खोलामा हलुका सवारी तार्ने क्षमताको १५ मिटर लामो फलामे कामचलाऊ पुल गत वर्ष निर्माण गरेको छ। नगरपालिकाले कामचलाऊ पुल बनाईदिएपछि गएको बर्खामा बाढीको कहर भोग्नु नपरेको यातायात व्यवसायी बताउँछन्।

लामा खोलाको बाढीले दुई वर्षअघि मोटरसाईकलसहित मान्छे बगाउँदा एकजनाको ज्यान गएको थियो। सो घट्नापछि चाँडोभन्दा चाँडो पुल बनाउन सरकारको ध्यानाकर्षण गराउँदै सडक विभाग, यातायात मन्त्रालय र प्रधानमन्त्रीसमक्ष आग्रह गरेपछि पक्की पुलको काम सुरु भएको नगर प्रमुख खगेन्द्र राईले बताए। लामा खोलासँगै सुन्दरी र ज्यामिरेका पुल यही आर्थिक वर्षभित्र बनाईसक्न निर्माण कम्पनीलाई भनिएको उनले बताए।

खैराहा र असारी खोलामा पनि चालु वर्षभित्रै पुल बनाउने गरी छिट्टै काम थालिने बताइएको छ। दुवै खोलामा एक स्पामका पुल बन्ने भएकाले यही वर्ष काम सकिने डिई खकुरेलले अनुमान लगाएका छन्।

प्रकाशित: २७ कार्तिक २०७८ ०६:४१ शनिबार

मदन भण्डारी सडक गाईघाट–बेलटार खण्ड नयाँ पुल