अर्थ

पोखरामा खानेपानी समस्या हल गर्न ‘मादी आयोजना’

मर्दीबाट २४ इन्च पाईप मार्फत पानी ल्याइने

हर्पन खोलाबाट दैनिक १ करोड आपूर्ति गर्ने योजनासहित डिपिआर बनाइँदै

पोखरामा खानेपानी बिस्तारको काम हुँदै। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा खानेपानी समस्या समाधान गर्न नेपाल खानेपानी संस्थान पोखराले दीर्घकालिन गुरुयोजना अघि सारेको छ। संस्थानले महानगरका ३३ वटै वडालाई लक्षित गरी ‘मादी खानेपानी गुरुयोजना’ अघि सारेको छ। योजनालाई नेपाल खानेपानी संस्थान तथा खानेपानी मन्त्रालयले पनि चासो दिएको छ।

पोखरा महानगरमा तिब्र शहरीकरणसँगै जनघनत्व बढ्दै गएको छ। जनघनत्वसँगै पानीको आपूर्तिको लागि खानेपानी संस्थानले गुरुयोजनाको रुपमा ‘मादी आयोजना’ अगाडि बढाउन अध्ययनको तयारी गरेको हो। ‘मादी आयोजना’ काठमाडौंको मेलम्ची खानेपानी आयोजना जस्तै दीर्घकालिन रुपमा अघि सारिदैं छ।

‘मादीबाट पानी ल्याउने योजना हो, त्यसको अध्ययनमै छौं,’ नेपाल खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख एवं ईन्जिनियर आशिष कार्कीले भने, ‘मादीसँगै मर्दी र हर्पन खोलाबाट समेत पानी ल्याउन अध्ययन भईरहेको छ।’ पोखराको जनसंख्या १५ लाख भन्दा बढी भएको अवस्थामा समेत खानेपानीको समस्या नहोस भन्ने ध्येयले मादीको आयोजना अध्ययनको प्राथमिकतामा राखिएको उनको भनाई थियो। ‘पोखरामा खानेपानी अपुग हुने अवस्थालाई ध्यान दिदैं मादी, मर्दी र हर्पन खोलाको योजना अघि सार्दै अध्ययन गर्दै छौं,’ उनको भनाई थियो।

कार्कीका अनुसार पहिलो चरणमा संस्थानले यो आर्थिक वर्षभित्रमा हर्पन खोलाबाट पानी ल्याउन आवश्यक अध्ययन टुङ्याएर विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाईने छ। संस्थानले मर्दीखोलाबाटै भईरहेको पाईपभन्दा ठूलो पाईप जडान गरेर खानेपानी आपूर्ति गर्ने समेत योजना अघि सारेको छ।

‘अध्ययन भईरहेको छ, डिपिआर बनाउन कन्सल्ट्याण्ट समेत ‘हायर’ गरिसकिएको छ,’ उनले भने ‘डिपिआरपछि आवश्यक लागत तयार हुन्छ। आवश्यक बजेटको लागि केन्द्रसँग माग गर्नेछौं।’ हर्पन खोलाबाट दैनिक १ करोड लिटर पानी पोखरा ल्याउने लक्ष्य संस्थानको छ। दैनिक १ करोड लिटर आपूर्ति भए आगामी ५ वर्षसम्म मागलाई थेग्ने उनको भनाई थियो। 

हपर्न खोला फेवातालको मुख्य पानीको स्रोत हो। संस्थानले हर्पन खोलाको मुहान घाँटीछिनादेखि हल्लनचोकसम्म पाईप विस्तार गरेर पानी ल्याउने जनाएको छ। घाँटीछिनामा इन्टेक बनाएर पाईप जडान गरेर हल्लनचोक ल्याई वितरण गरिने छ, १० वा १६ ईन्च पाईपबाट दिनहुँ एककरोड लिटर पानी ल्याउँछौं,’ उनले भने, झण्डै १२ किलोमिटर पाईप विस्तार गर्नुपर्ने देखिन्छ।’

पोखरामा अहिले दैनिक साढे ५ करोड लिटर पानीको आपूर्ति हुदैं आएको छ। मर्दी, कालीमुढा, अन्य विभिन्न स्रोत एवं बोरिङबाट पानीको आपूर्ति गरिदैं आएको छ। संस्थानले थप दुईवटा बोरिङबाट आपूर्ति गर्ने तयारी गरेको छ। मर्दीबाट समेत खानेपानी आपूर्ति बढाउन संस्थानले २४ ईन्चको पाईप जडान गर्ने तयारी गरेको छ।

‘मर्दीबाट २४ इन्चको पाईपबाट पानी ल्याउँछौं,’ कार्यालय प्रमुख कार्कीले भने, ‘अहिले १६ इन्च पाईप मार्फत पानी पोखरा बजार झारिएको छ।’ २४ इन्च पाईप मार्फत पानी ल्याइएको अवस्थामा पोखराको खानेपानीको समस्या हट्नेछ। मर्दीबाट झण्डै ११ किलोमिटर पाईप विस्तार गरी पोखरा–२ मिरुवास्थित विन्ध्यावासिनी मन्दिर नजिकै ट्याङीमा रिजर्भ गरिएको छ।

पोखरामा अहिले खानेपानी सुदृढिकरणको लागि बजार क्षेत्रमा पाईप विस्तार गरिएको छ। जापानी दातृ निकाय जाईकाको सहयोगमा बजार क्षेत्रमा पाईप विस्तार गर्ने काम करिब ७० प्रतिशत सकिएको छ। पुरानो पाईप जीर्ण भएकोले पानी खेर गईरहेको छ। खेर गएको पानी न्युनिकरण गर्न नयाँ पाईप विस्तार गरिएको संस्थानले जनाएको छ। २४ इन्च पाईप विस्तारको लागि ४० देखि ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। ‘पाईप विस्तार गर्न दातृ निकाय गुहार्नु पर्दैन। संस्थान मार्फत नै काम गर्न सकिन्छ,’ उनको भनाई थियो।

पोखरामा ४५ हजार धारा जडान गरिएको तथ्यांक खानेपानी संस्थानसँग रहेको संस्थानका सब ईन्जिनियर लक्ष्मण पाण्डेले जानकारी दिए। उनका अनुसार वार्षिक पोखरा महानगरपालिका भित्र हेमजा क्षेत्र बाहेक १५ सय नयाँ धारा जडान हुन्छ। पोखराको खानेपानी संस्थान नेपालकै शाखा हो। ठुलो संस्थान भएकै कारण राजश्व पनि अन्यमा भन्दा बढी उठ्ने गरेको छ। पोखरामा वार्षिक २६ करोड रुपैयाँ राजश्व संकलन हुने संस्थानका लेखा प्रमुख पुष्पराज जोशीले बताए।

प्रकाशित: २६ कार्तिक २०७८ १०:०७ शुक्रबार

पोखरा खानेपानी मादी आयोजना