अर्थ

पर्यटन व्यवसायी भन्छन्ः बिस महिना पछि सबैभन्दा बढी पाहुना

अहिले दिनकै २५ सय यात्रुको हवाईजहाजबाट आउजाउः विमानस्थल

पोखरा लेकसाइडमा विहीबार दिउँसो घुम्न पुगेका पाहुना। तस्बिरः उमेश पुन/नागरिक

पोखराबाट विभिन्न सहरसम्म हुने सिधा हवाई उडानबाट यतिबेला दैनिक करिब २५ सय यात्रु ओहोरदोहोर गरिरहेका छन्। अहिले पोखराबाट विभिन्न गन्तव्यसम्म दैनिक करिब ३० वटा उडान (एकतर्फी) भईरहेका छन्। हवाई यात्रा गर्ने यात्रु बढेपछि कतिपयले भनेको बेला हवाई टिकट समेत पाउन मुस्किल छ। कतिपय रुटमा त तीनदिनसम्मका लागि अग्रिम बुकिङ भईसकेको हुन्छ।

हवाईजहाजमा मात्र नभई सुविधासम्पन्न सेवा दिने कतिपय पर्यटक बसमा पनि यात्रुको भीडभाड नै छ। पोखरा–काठमाडौं रुटमा यतिबेला दैनिक करिब एकदर्जन पर्यटक बस चल्छन्। ती बसमा पोखराबाट जाँदा करिब ६० प्रतिशत यात्रु छन्। काठमाडौंबाट पोखरा फर्किनेमा भने ५० प्रतिशत हाराहारीमा यात्रु छन्। केहीदिन अघिसम्म त पर्यटक बसमा पनि दुईतर्फि नै यात्रुले टिकट पाउन हम्मेहम्मे थियो।  

हवाईजहाज र पर्यटक बसबाहेक निजी गाडीमा पोखरा हुइँकिने यात्रुको संख्या पनि उत्तिकै छ। मोटरसाइकल देखि निजी सवारीमा अहिले पोखरा आउने पाहुना अधिक छन्। तिनैको भीडभाडमा अहिले भारतीय पाहुना पनि मिसिन पोखरा आएका छन्। निजी सवारीमा अहिले पोखरा घुम्न आउने भारतीय पाहुना पर्याप्त देखिन्छन्। आन्तरिक र भारतीय पाहुनाको कारणले अहिले पोखराको पर्यटन क्षेत्र केही तंग्रिएको पर्यटन व्यवसायीले बताएका छन्।

कोरोना संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रलाई एकाएक माथि उकास्ने गरि यो पटक चाँडबाँडमा आन्तरिक पाहुना पोखरा आएको यहाँका पर्यटन व्यवसायीको भनाई छ। पाहुनाको त्यो आगमन दसैंदेखि बढ्न थालेको थियो। अहिले पाहुनाको आउजाउ केही घटेको भएपनि व्यवसायीले कोरोनाको मार सुरु भएको झन्डै बिस महिने अवधिमा सबैभन्दा बढी पाहुना यहीबेला पाएको बताएका छन्।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल भन्छन, ‘दसैंदेखि पर्यटनमा सोँचेभन्दा सुधार भएको छ। पर्यटनले कोरोनाको मार खेप्न थालेको बिस महिने अवधिमा सबैभन्दा बढी पाहुना यहीबेला भित्रिए,’ बरालले भने, ‘दसैंको केहीदिन अघिदेखि आगमन बढ्न थालेको थियो। पाहुना आगमनको त्यो संख्या तिहारसम्म निकै नै राम्रो थियो। तिहार पछि केही घटेको भएपनि कमजोर भने नरहेको उनले बताए।  

‘कोरोना संक्रमणले गर्दा विदेशी पाहुना आउन नआएपनि आन्तरिककै भरमा पनि पर्यटन क्षेत्र बचाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौ,’ बरालले भने, ‘तेश्रो मुलुकका विदेशी पनि फाट्टफुट्ट देखिन थालेका छन्। तर, अहिले त आन्तरिक र केही भारतीय पाहुनाको मात्र चहलपहल हो।’ आगामि दिनमा कोरोना संक्रमण नबढ्ने हो भने आन्तरिक पाहुना अझै आउने र त्यसैमा अरु भारतीय पनि मिसिनेमा आफुहरु आशावादी रहेको उनले बताए।  

‘अब भने व्यवसाय जोगिन्छ की भन्नेमा आशा पलाएको छ। यही आकारमा विदेशी आउँदा कमाई हुन्थ्यो। तर, अहिले व्यवसाय जोगाउने आधार चाहिँ बन्यो,’ उनले भने, ‘पर्याप्त कमाउन नसकेपनि व्यवसाय टिकाउन पनि सकिने आधार बनेको छ। कोरोना संक्रमण मात्र नबढ्ने हो भने व्यवसायी जोगिन्छन्। व्यसाय धान्न सक्नु पनि ठुलो उपलब्धि हो।’ उनका अनुसार कोरोना संक्रमणको पहिलो लहर केही कमजोर भएपछि पाँचमहिना व्यवसाय खुलाएपनि त्यो बेलाको आगमन अहिले जति थिएन। तर, यो पटक भने सोचेभन्दा बढी पाहुना आउँदा व्यवसायी हौसिएको उनले सुनाए।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चल अध्यक्ष सञ्जयकान्त सिग्देल पनि पछिल्लो समय आन्तरिक पाहुनाको आगमनले पर्यटनमा राहत मिलेको बताउँछन्। ‘आन्तरिक पाहुनाको आगमन कोरोनाको संक्रमण सुरु भएपछिको सबैभन्दा बढी यहीबेला भएको हाम्र्रो अनुमान छ,’ सिग्देलले भने, ‘अहिले केही घट्न थालेको भएपनि यसलाई कम ठान्नु हुँदैन।’  

उनका अनुसार अहिले काठमाडौंबाट मात्र नभई अन्य ठुला सहरबाट पनि आन्तरिक पाहुना पोखरा घुम्न आउने गरेका छन्। ‘कोरोनाले गर्दा लामो समय घरभित्र थुनिएका पाहुना एकाएक बाहिर निस्कन पाउँदा पर्यटकीय गन्तव्य खचाखच भए,’ उनले भने, ‘अहिले पनि पाहुनाको भीड बढेको छ। पाहुनाको आउजाउ बढी हुँदा हवाईजहाजमा टिकट पाउन पनि मुस्किल भएको छ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई दसैं–तिहारले पर्यटन क्षेत्रमा निकै नै चहलपहल बनाएको बताउँछन्। ‘कोरोना संक्रमण सुरु भएपछिको योबेलाको आगमन सबैभन्दा राम्रो रह्यो, व्यवसायी निकै नै खुसी छन्। यो पटक भारतीय र बंगलादेशी पाहुना पनि आएकोले यहाँ भीडभाड बढ्यो,’ भट्टराइले भने, ‘भारतीय र स्वदेशीले गर्दा राम्रो भयो । भारतीयको आगमन हुनु हाम्रा लागि सुखद पक्ष हो। मौसम पनि अनुकुल हुँदा घुमघाममा धेरै पाहुना निस्किए।’  

अब कोरोनाको तेश्रो लहर नफर्कने हो भने पर्यटन व्यवसाय जोगिनेमा आफुहरु विश्वस्त रहेको उनले सुनाए। दसै तिहारको घुमघामको माहोल र कोरोनाको संक्रमण कमजोर हुँदा पाहुनामा घुमघामको आत्मबल बढेको उनले बताए। उनका अनुसार यो पटक आन्तरिक पाहुनाकै कारण लेकसाइडका होटलको अकुपेन्सी करिब ६० प्रतिशत थियो। त्यो अकुपेन्सी कपितय होटलको त सतप्रतिशत नै पुगेको उनले बताए। पोखरा मात्र नभई आसपासका ग्रामिण क्षेत्रका होमस्टेमा समेत पाहुना पर्याप्त पुगेको उनले बताए।  

प्रकाशित: २५ कार्तिक २०७८ १०:५६ बिहीबार

सबैभन्दा बढी पाहुना पोखरा