अर्थ

रिपोमार्फत बैंकिङप्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ। बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ।बिहीबार जारी हुने रिपोसहित अब ५० अर्ब रूपैयाँ बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ। तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको छ।केही बैंक थप ऋण दिनसमेत नसक्ने अवस्थामा पुगेका छन्।राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेसँगै यसको व्यवस्थापनमा समेत बैंकहरूलाई कठिन परेको छ।केन्द्रीय बैंकको पछिल्लो विवरणअनुसार औसत कर्जा निक्षेप अनुपात ८९.८७ प्रतिशत छ।

चालु आर्थिक वर्षको सुरुआतमा सोचेअनुरूप विप्रेषण प्रवाह नहुनु, आयात बढ्दा बाह्य क्षेत्रमा दबाब पर्नु तथा समयमै सरकारी खर्च नहुँदा वित्त प्रणालीमा तरलताको चाप परेको हो। नेपाल बैंकर्स संघको ३५औं साधारणसभामा मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरेका थिए।

कोरोना महामारीपछि बैंकमा कर्जाको माग बढेको र त्यसलाई सम्बोधन गर्दै अल्पकालीन नाफा लिन खोज्दा तरलतामा चाप परेको वास्तविकतालाई नबिर्सन र ‘बैंकरहरू’मा अनुशासन कायम हुन जरुरी भएको उनले बताएका थिए।

आफ्नो संस्थाको निक्षेप बढाउन र त्यसलाई अन्य बैंक तथा वित्तीय संस्थामा जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नै निक्षेपमा दुई अंकको ब्याजदर तोकेका थिए।

प्रकाशित: २५ कार्तिक २०७८ ००:३७ बिहीबार

नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक