अर्थ

पोखराको चालु विमानस्थलको भविष्य के?

अहिलेकै अवस्थामा राखेर हवाई मनोरञ्जनात्मक गतिविधि संचालन गर्नुपर्छः व्यवसायी

प्रशिक्षणस्थल बनाउन पाए राम्रो हुन्थ्योः प्राधिकरण

पोखरा विमानस्थलबाट उडानको तयारीमा रहेका हवाईजहाज। तस्बिरः उमेश पुन/नागरिक

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। कुनै बाधा अवरोध उत्पन्न नभए अबको केही महिनापछि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनेछ। नयाँ विमानस्थलबाट उडान र अवतरण सुरु भएसँगै हाल संचालनमा रहेको विमानस्थल के गर्ने भन्नेमा बहस सुरु भएको छ।  

हाल संचालनमा रहेको पोखरा विमानस्थल राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलपछिको व्यस्त मध्येमा पर्छ। यहाँबाट अहिले काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरा, मुस्ताङ र मनाङसम्म उडान भइरहेको छ। केही समयपछि बिराटनगर र जनकपुर पनि यही विमानस्थलबाट उडान थाल्ने योजना हवाई कम्पनिले बनाएका छन्। पछिल्लो समय दिनमा यो विमानस्थलबाट ३० वटा हाराहारीमा हवाई उडान भईरहेका छन्।

पर्यटकीय सिजन मात्र नभई अरुबेला पनि यात्रुको बाक्लो ओहोरदोहोर हुने यो विमानस्थललाई चल्तीकै अवस्थामा राख्ने वा अरु काममा उपयोग गर्ने भन्नेमा अहिले बहस चल्न थालेको छ। पोखराका पर्यटन व्यवसायी यो विमानस्थललाई चालु अवस्थामा राख्नुपर्ने बताउँदै आएका छन। हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मातहत रहेको यो विमानस्थललाई चालु अवस्थामै राख्दा उपयुक्त हुने प्राधिकरणको भनाई छ।  

हवाई क्षेत्रकै लागि उपयोग गर्न सकेमा उत्तम हुने प्राधिकरणले बताएको छ। तर, नयाँ विमानस्थल संचालनमा आएपछि पुरानोलाई अन्य काममा उपयोगमा ल्याउनेगरि सरकारले योजना बनाउन सक्ने भन्दै यो विमानस्थलको संरचना चालु अवस्थामै राख्न दवाव दिनुपर्ने पोखरेलीले बताएका छन्। अझ पोखरेली व्यवसायी त पोखराको आकाशमा हुने मनोरञ्जनात्मक हवाई गतिविधि यही विमानस्थलबाट संचालन गर्नुपर्ने बताउँछन्।  

‘हामी चालु विमानस्थललाई यथावस्थामै राखेर साहसिक मनोरञ्जनात्मक गतिविधि (अल्ट्रालाइट उडान) संचालन गरोस भन्ने चाहेका हौ,’ पोखरामा अढाई दशकदेखि अल्ट्रालाइट जहाज संचालन गरिरहेको संस्था एभिया क्लवकी संस्थापक नतासा श्रेष्ठ भन्छिन, ‘चालु विमानस्थललाई अहिलेकै अवस्थामा राखेर साहसिक गतिविधि सहित आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने गरि राखेमा राम्रो हुनेछ, जुन भविस्यका लागि पनि आवश्यक पर्न सक्छ।’ चालु विमानस्थल अहिलेका लागि मात्र नभई हवाई क्षेत्रका सबैखालका जनशक्ति उत्पादनमा पनि सहयोगी बन्न सक्नेगरि उपयोग गर्नुपर्ने उनले बताईन।

‘हवाई क्षेत्रका प्राविधिकको तालिमकेन्द्रको रुपमा उपयोग गर्न सकिन्छ। सबै सुविधा रहिरहेकोले यो विमानस्थल अरु काममा उपयोग गर्नु हुँदैन। आपतकालिन उडान र अवतरण सहितका काम यो विमानस्थलबाट गर्न सकिन्छ,’ उनले भनिन, ‘अहिलेको चालु विमानस्थलको कुनैपनि संरचना बिगार्नु हुँदैन भन्ने चाहना हो। कुनै न कुनै रुपमा यो विमानस्थललाई उपयोग गर्नुपर्छ। यसका संरचना ध्वस्त पारेर फाइदा हुँदैन। आपत्तकालिन अवस्थाका लागि पनि यस्ता पूर्वाधार आवश्यक हुन्छन्।’

पोखरा पर्यटन परिषद (पिटिसी)का उपाध्यक्ष पोमनारायण श्रेष्ठ पनि हेलिकप्टर, अल्ट्रालाइटको उडान सहित हवाई क्षेत्रका सबैखाले हवाई क्षेत्रका प्रशिक्षणस्थलका लागि पनि यो विमानस्थल उपयोग गर्नुपर्ने बताउँछन्। विहानीपख मात्र उडान हुने मनाङ र मुस्ताङसम्मको हवाई सेवा पनि चालु विमानस्थलबाटै संचालन गर्दा सहज हुने उनले बताए। ‘पुस–माघको महिनामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लाग्छ। त्यसले गर्दा हिमाली जिल्लामा बिहानीपख मात्र हुने उडानमा वाधा उत्पन्न हुन सक्छ,’ श्रेष्ठले भने, ‘त्यही भएर चालु विमानस्थललाई पनि उपयोग गरेर विहानका सबै उडान संचालन गर्नुपर्छ।’

अहिले पोखरामा हेलिकप्टरका मुभमेन्ट पनि बढिरहेको र हवाई खेलकुदका उडान पनि यही विमानस्थलबाट हुने भएकोले त्यो काममा पनि उपयोग गर्नुपर्ने उनले बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थलमा चाप नपरोस। यो विमानस्थललाई हवाई काममा मात्र उपयोग गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘पोखरामा खुला ठाउँ अभाव भएको अवस्थामा यो विमानस्थललाई उपयोग गर्नुपर्छ।’  

भूकम्पको बेला उद्धार र राहतमा पनि यो विमानस्थल उपयोग भएको भन्दै परिषद उपाध्यक्ष श्रेष्ठले आगामि दिनमा प्राकृतिक प्रकोपका घटना बढिरहँदा विमानस्थललाई पनि वैकल्पिक ठाउँ दिनुपर्ने बताए। ‘कुनैपनि बेला उद्धार र राहतका कार्यक्रम संचालन गर्नुपर्ने हुनसक्छ। त्यो बेलाका लागि पनि आवश्यक पर्छ,’ उनले भने, ‘अहिले हतारमा यो विमानस्थल बन्द गर्दा पछि पछुतो हुन सक्छ।’  

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री पनि अहिलेको विमानस्थललाई चल्तीकै अवस्थामा टिकाईरहन पोखरेलीको सहयोग आवश्यक पर्ने बताए। ‘पोखरामा खालि ठाउँको रुपमा विमानस्थल मात्र हो। यही ठाउँमा पनि ठुला भवन बनाइयो भने स्वरुप बिग्रन्छ। त्यसैले यसलाई बचाउनुपर्छ,’ क्षेत्रीले भने, ‘विमानस्थल बचाउन ढिला नगरि पोखरेलीले साथ दिनुपर्छ। यो विमानस्थल हटाउनु हुँदैन भन्नेमा हाम्रो पहल हुनेछ।’

चालु विमानस्थलबाट एभिएसन् स्र्पोटसको रुपमा रहेका हेलिकप्टर, अल्ट्रालाइट संचालन गर्ने चाहना रहेको उनले बताए। त्यस्तै काठमाडौंमा बनाउन थालिएको प्राधिकरणको तालिमकेन्द्र पोखरा पोखरामा सार्न खोजेको उनले बताए। ‘प्राधिकरणले काठमाडौंमा एभिएसनको तालिमकेन्द्र पोखरामा सार्न खोजेको छ। यो विमानस्थललाई जोगाउन सके एभिएसनको क्षेत्रलाई लाभ पुग्ने र  जग्गाको संरक्षण हुनेछ,’ उनले भने, ‘सरकारलाई विमानस्थल जोगाउने बारेमा सुझाव दिने भएपनि संंरक्षणका लागि पोखरेलीको सहयोग चाहिन्छ।’

प्राधिकरण पोखराका सुचना अधिकारी देवराज सुवेदीका अनुसार यो विमानस्थलबाट एकैदिन ३४ सय यात्रु ओहोरदोहोर गरेको तथ्यांक छ। अहिले पनि दिनमा २५ सय हाराहारीमा यात्रु ओहोरदोहोर गरिरहेका छन। दसैपछिका दिनमा एकैदिन २७ सय यात्रु यही विमानस्थलबाट आउजाउ गरेको प्राधिकरणले बताएको छ। पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्या करिब ४० प्रतिशतले बढेको अवस्थामा विमानस्थलमा चाप बढिरहेको सुवेदीले बताए।

अहिले प्राधिकरणको प्रशिक्षण प्रतिष्ठान सानोठिमीमा छ। प्रतिष्ठानबाट एयर ट्राफिक कन्ट्रोलर (एटिसी), अग्नि नियन्त्रण सहितका प्राधिकरणका सबैखाले तालिम गराइन्छ। पोखराको यो विमानस्थल बिंस २०१४ देखि संचालनमा आएको हो। ११५६ रोपनी क्षेत्रफलको यो क्षेत्रमा ११ सय ४७ मिटर लामो र ४० मिटर चौडाइको धावनमार्ग रहेको छ। 

प्रकाशित: १६ कार्तिक २०७८ ०६:२५ मंगलबार

पोखराको चालु विमानस्थल भविश्य