अर्थ

नियम विपरीत सञ्चालित दुई मिठाई पसल सञ्चालकलाई जरिवाना

नियम विपरीत सञ्चालित दुई मिठाई पसल सञ्चालकलाई रु ३० हजार जरिवाना गरिएको छ। काठमाडौँ महानगरपालिकाले तिहार पर्वलाई लक्षित गरी आज गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले पसल सञ्चालकलाई जरिवाना गरिएको हो।

चावहिलको पूजा स्वीट हाउसलाई रु २० हजार तथा ‘गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाट’लाई रु १० हजार जरिवाना गरिएको कामपाको कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिए। पसल नवीकरण नगरी सञ्चालन गरेको, स्वास्थ्य मापदण्ड पालना नगरिएको, सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य बस्तु बिक्री गरेको तथा अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ गरेको पाइएपछि सञ्चालकद्वयलाई जरिवाना गरिएको हो।

अनुगमनकै क्रममा पूजा स्वीट हाउसबाट उपभोग्य मिति गुज्रिएका २५० ग्राम तौल भएका हल्दिराम ब्राण्डका ५८ प्याकेट र गुप्ता स्वीट एण्ड चाटबाट हल्दिराम ब्राण्डकै २५ प्याकेट जफत गरिएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सानाभन्दा पनि मझौला पसल सञ्चालकले गुणस्तरीय खाद्यबस्तु विक्री वितरणमा ध्यान नदिएको पाइएको बताए।

सो क्रममा सन्तोष स्वीट्सले प्रयोग गर्दै आएको पाँच लिटर खान अयोग्य तेल नष्ट गरिएको थियो।

प्रकाशित: ८ कार्तिक २०७८ १४:३२ सोमबार