अर्थ

पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

नेपाल पर्यटन बोर्ड र भारतको ट्राभल एजेन्टस् एसोसिएसन अफ इन्डिया (टाई)बीच दुवै देशको पर्यटन प्रवर्द्धनका लागि आपसी सहकार्य गर्ने सम्झौता भएको छ। 

नयाँ दिल्लीमा भएको उक्त सम्झौतामा बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र टाईका अध्यक्ष ज्योति मायालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बोर्ड तथा टाईले आयोजना गर्ने पर्यटन प्रवर्द्धनका इभेन्ट, रोड सो, वेबिनार जस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायत विषयहरू समावेश छन्।

भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख रेग्मीको भनाइ छ। एक अर्को देशमा भएका पर्यटन प्रवर्द्धनका राम्रा अभ्यासहरू आदानप्रदान गर्दा दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ।

प्रकाशित: ८ कार्तिक २०७८ ०२:१७ सोमबार

नेपाल पर्यटन बोर्ड ट्राभल एजेन्टस् एसोसिएसन अफ इन्डिया हस्ताक्षर