अर्थ

आत्तीएर सस्तोमा शेयर नबेच्न आग्रह

शनिबार विराटनगरमा आयोजित अन्तर्क्रियामा सहभागीहरू। तस्बिरः नागरिक

आत्तीएर घटेको बेलामा शेयर नबेच्न स्वतन्त्र पूँजी बजार सुधार संघले आग्रह गरेको छ। शनिबार विराटनगरमा आयोजित अन्तर्क्रियामा संघले बजार नियोजित रुपमा घटाइएका कारण घटेको बेला आत्तीएर शेयर नबेच्न लगानीकर्ताहरूलाई आग्रह गरेको हो।

स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्कीले स्वतन्त्र रुपमा चल्नु पर्ने शेयर बजारलाई केही व्यक्तिको स्वार्थ पूर्तिका लागि नियामक निकायहरूले नीतिगत परिवर्तन गरी घटाएको दाबी गरे। कार्कीले भने, ‘केही व्यक्तिको स्वार्थ पूर्तिका लागि  शेयर बजार अस्वभाविक रुपमा नियोजित तरिकाले घटाइएकाले यस्तो घटाइ धेरै दिनसम्म नरहने भएकाले आत्तीएर शेयर नबेच्नुस्।’ विना कारण छोटो समयमा धेरै घटिसकेकाले  शेयर बजार जुनसुकै बेला विष्फोटक गतिले बढ्ने भएकाले सुझबुझपूर्ण रुपमा शेयर किनबेचको निर्णय लिन लगानीकर्तालाई उनले आग्रह गरे।

कार्कीले पूँजी बजारको विकासमा कर्मचारी प्रशासन, नियामक निकायहरूनै बाधक देखिएको टिप्पणी गरे। शेयर बजारको सुधारका लागि स्थिर नीतिगत व्यवस्था हुनुपर्नेमा आफूहरूले दबाब सृजना गरिरहेको कार्कीले बताए। उनले  तीन–तीन महिनामा परिवर्तन हुने नीतिले शेयर बजारको विकास र विस्तारमा अवरोध गरिरहेको धारणा राखे। कार्कीले नीतिगत भ्रष्टाचार गरेर शेयर बजारलाई केही व्यक्तिको स्वार्थ अनुकूल घटाउने, बढाउने प्रवृत्तिको अन्त्य गर्न लगानीकर्ताहरू आन्दोलित बन्नुपर्ने अवस्था आएको  बताए।

उनले भने, ‘अब, शेयर लगानीकर्ताहरूले स्थित नीतिगत व्यवस्थाका लागि एकपटक आन्दोलित बन्नुपर्ने अवस्था आएको छ।’ कार्कीले शेयर लगानीकर्ताहरू गाउँ गाउँमा हुने तर, लगानीकर्ताको हितमा स्थापना भएका संस्थाहरू काठमाडौं केन्द्रित मात्रै हुने भएकाले आफूहरूले  प्रदेश, जिल्ला र पालिकास्तरमा समेत संगठन विस्तार गर्न थालेको जानकारी दिए।

स्वतन्त्र पूँजी बजार सुधार संघले प्रदेश १ मा प्रदेश स्तरीय समिति गठन गरिसकेको र मोरङ, सुनसरी र विराटनगर महानगरपालिका स्तरीय समितिसमेत शनिबार गठन गरिएको स्वतन्त्र पूँजी बजार संघ प्रदेश १ का अध्यक्ष गणेश दंगालले जानकारी दिए। उनले प्रदेश १ का सबै जिल्ला, महानगरपालिका र महानगरपालिकामा संघले समिति विस्तार गर्ने बताए। नेपालमा केही वर्ष यता शेयर लगानीकर्ताहरूको संख्या तीव्र रुपमा बढी रहेको छ।

हाल ४६ लाखभन्दा बढी डिम्याट खाता खुलिसकेको छ। पछिल्ला प्राथमिक निश्कासनहरूमा २५ लाख जना भन्दा बढीले आइपीओ भर्न थालेका छन्।

प्रकाशित: ६ कार्तिक २०७८ १२:२७ शनिबार