अर्थ

ठेकेदारको लापरवाहीले सात वर्षमा २० प्रतिशत मात्रै काम

कलैया–नितनपुर सडक खण्डअन्तर्गत बन्जरिया गाउँको पुर्वमा रहेको बंगरी खोलाको पुल समयमै नबनाउँदा सर्वधारणहरु जोखिमपूर्ण वारपार गर्न बाध्य हुँदै आएका छन्।

स्थानीयहरुले पक्की पुलको विकल्पमा बाँसको पुल बनाएर जोखिमपूर्ण आवतजावत गर्दै आएका हुन्। निर्माण कम्पनीले बंगरी खोलाको पुललाई सात वर्षदेखि अलपत्र पारेर छोडदा खोलामा बाढी आएको बेलामा सर्वसाधारणहरुलाई बाँसको पुलबाट आवतजावत गर्दा ज्यान नै जोखिममा पर्ने गरेको बन्जरियाका स्थानीयहरुले गुनासो गरेका छन्।

खोलामा बाढी आएको बेलामा बाँसको पुलबाट नै मानिसको साथसाथै गाईबस्तु र बाख्रा समेतले वारपार गर्नुपर्ने बाध्यता रहेको छ। दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७१ साल असारमा निर्माण कम्पनी एलाईट/मोना जेभीलसँग बंगरी खोलाको पुल निर्माणको सम्झौता भएको सडक डिभिजन कार्यालय हेटौडाले जनाएको छ।

सम्झौताअनुसार कलैया–नितनपुर सडक खण्ड अन्तर्गत बन्जरियामा पर्ने बंगरी खोलाको पुललाई एलाईट/मोना जेभीले पाँच करोड ४३ लाखमा २०७३ असारभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अधुरै छोडिएको छ।  

पाँच वर्ष पहिला नै निर्माण सम्पन्न हुनुपर्ने बंगरी खोलाको पुलको निर्माण कार्यमा निर्माण कम्पनीको लापरवाहीले अधुरै रहन गएको सडक डिभिजन कार्यालय हेटौडाका प्रमुख खड्गलाल श्रेष्ठले बताए।  

निर्माण कम्पनीले समयमै पुलको निर्माण कार्य पूरा नगरेपछि निर्माण कम्पनीका प्रोपाइटरहरुलाई पुलको निर्माण कार्य पूरा गर्न पत्राचार गरी दबाब दिएको  श्रेष्ठले बताए। सात वर्ष पहिलादेखि शुरु गरिएको पुलको निर्माण कार्य २० प्रतिशतको हाराहारीमा मात्रै भएको सडक डिभिजन कार्यालय हेटौडाले जनाएको छ।

वर्षौदेखि अलपत्र पारिएको पुललाई निर्माण सम्पन्न गर्नका लािग निर्माण कम्पनी मोनाका प्रोपराइटर्स मुकेश कुमार चौरसीयासँग जिल्ला प्रशासन कार्यालय बारामा छलफल गरिएको  र छलफलपछि चौरसियाले पुलको निर्माण कार्य शुरु गर्ने प्रतिबद्धता गरेको डिभिजन प्रमुख श्रेष्ठले बताए।

अहिले पुलको निर्माण कार्य शुरु गर्नको लागि मुकेशलाई फोन गर्दा फोन नै नउठाउने र सम्पर्क पनि गर्न नमाने पछि अर्को निर्माण कम्पनी एलाईटको प्रोपाइटरलाई पुलको निर्माण कार्य सम्पन्न गराउन पत्राचार गरिएको श्रेष्ठले बताए।

ठेकेदारले २०७३ असार मसान्त भित्रमा बंगरी खोलाको पुलको निर्माण कार्य सम्पन्न नगरेपछि  सडक डिभिजन कार्यालय हेटौडाले कार्वाही गर्नुको साटो निर्माण कम्पनीको समय थप्दै गएपछि पुलको निर्माण कार्य वर्षौ धकेलिदै गएको बन्जरियाका स्थानीय जयमंगल बैठाले बताए।

दुई वर्ष पहिला नै पुल निर्माणमा ढिलाई गरेको कारण निर्माण कम्पनी एलाईट÷मोना जेभीलाई कालोसूचीमा राख्ने तयारी गरिए पनि तत्कालिन डिभिजन प्रमुख सुमन योगेशले उनीहरुसँग २०७६ असारभित्र पुलको निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता गराएर ठेक्काको समय थपेको आरोप प्रसौनी ७ बन्जरियाका वडा अध्यक्ष राममणी गुप्ताले लगाए।

निर्माण कम्पनीले पुलको निर्माण कार्यमा ढिलाई गरेको कारणले गर्दा वर्षा शुरु भएपछि गाउँमा बिरामी परेकाहरुलाई अस्पताल समेत लैजान नसकिने अवस्था रहेको गुप्ताले बताए। पुल निर्माणमा ढिलाईले गर्दा कलैयाबाट १० किलोमिटर पर्ने जितपुरसिमरा पुग्न ३० किलो मिटर घुमाउरो बाटो हिँडनु पर्ने अवस्था रहेको छ।

कलैयाबाट दैनिक सिमरा जान कलैया–बन्जरिया–नितनपुर सडकले धेरै सजिलो रहे पनि बंगरी खोलामा पुलको निर्माण कार्यमा ढिलाई हुँदा दैनिक हजारौ जनालाई खोलामा निर्माण गरिएको बाँसको पुलबाट जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्।

प्रकाशित: ३ कार्तिक २०७८ ०९:५० बुधबार

सडक डिभिजन कार्यालय