अर्थ

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टी

पञ्चकोशी तिर्थस्थलमध्ये नावीस्थानमा सदियौंदेखि बलिरहेको ज्वाला। चिनियाँ टोलीले यो ठाउँलाई केन्द्रविन्दू मानेर अन्वेषणको काम सुरु गरेको थियो। तस्बिरः गोविन्द केसी/नागरिक

दुई वर्षअघि चिनियाँ कम्पनीले दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ। वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएपनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन।

२०७६ असोजबाट दैलेखको दुल्लु नगरपालिकालाई केन्द्रमा राखेर चिनियाँ अन्वेषण टोलीले अनुसन्धान गरेको थियो। कोभिड सुरु भएसँगै तीन महिनासम्म प्रारम्भीक अन्वेषणको काम सकेर चिनियाँ टोली फिर्ता भएको थियो। धन्नै दुई वर्ष ढिलो गरेर चिनियाँ टोलीले नेपाल सरकारलाई दिएको प्रतिवेदनमा दैलेखमा पेट्रोलियम पदार्थ रहेको उल्लेख छ।

दैलेखमा पेट्रोलियम पदार्थ रहेको भनिएपनि कति परिणाममा र कहाँ–कहाँ छ भन्ने खुलाइएको छैन। खानी तथा भूगर्भ विभागले उत्खननका लागि लाग्ने खर्च र फाईदाबारे भने अन्तिम अन्वेषण (ड्रिलिङ गर्ने कार्य) बाँकी रहेको जनाएको छ।

दैलेखको पञ्चकोशी क्षेत्रको पश्चिमतिर कम्तिमा चार किलोमिटरमा तत्काललाई एक ठाउँमा मात्र ड्रिलिङ हुने चिनियाँ प्रतिवेदनमा उल्लेख गरिएको भूगर्भ विभागले जनाएको छ। भौगलिक अवस्था अग्लो र होचो भएकाले ड्रिलिङ गर्ने ठाउँ अति संवेदनशिल रहेको जनाइएको छ। ‘चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ,’ भूगर्भ विभागका भूगर्भविद् सुधिर रजौरेले भने, ‘कोभिडले गर्दा ढिलाई भएको हो अब, ड्रिलिङ गर्ने कार्य सकिए पेट्रोलियम पदार्थ कहाँ कति मात्रामा छ पूरै विवरण आउँछ।’

अन्वेषणमा कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चट्टान हेरेर जमिनमुनिको अवस्था कस्तो छ भनेर एमआरआई सर्भे गरिएको थियो। अब, चिनियाँ टोलीले ड्रिलिङपछि पेट्रोलियम पदार्थको भण्डारण, पेट्रोलियम पदार्थ रहेको क्षेत्र, उत्खननमा लाग्ने खर्च, फाईदालगायतका कुराहरुको अनुसन्धान गर्नेछ।

भूगर्भविद् एवम् पेट्रोलियम परियोजना प्रमुख सुधिर रजौरेले चिनियाँ कम्पनीले ड्रिलिङ गर्ने काम सुरु गरेको कम्तिमा पाँच महिनापछि पेट्रोलियम पदार्थको बास्तविक अवस्थाको बारेमा पत्ता लाग्नेछ। अन्वेषणका क्रममा अनुसन्धान टोलीले जमिनमुनिमा कम्तिमा ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्नेछन्। अन्वेषणमा चीनको चाइना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भूगर्भविद् टयान फुएनले गरेका थिए।

प्रकाशित: २ कार्तिक २०७८ ०८:३७ मंगलबार

पेट्रोलियम पदार्थ