अर्थ

हुवासिनको स्विचिङ स्टेसन सञ्चालनमा

धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई बिजुली आपूर्ति गर्ने स्विचिङ स्टेसन सञ्चालनमा आएको छ। मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  

तनहुँस्थिति तल्लो मस्र्याङदी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। प्रसारण लाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति गरिने छ। हुवासिन सिमेन्टले २० मेगावाट विद्युत लिने छ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंमा बिजुलीको माग कम हुने मौका पारेर स्विचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए। ‘अन्य समयमा मस्र्याङदी–स्युचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दसैंको बेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्विचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्नेछ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो। कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सबस्टेसन निर्माण गरेको छ। प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो।  

कार्यकारी निर्देशक घिसिङका अनुसार स्विचिङ स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन्। ‘स्विचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्ने उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने छ,’ उनले भने, ‘यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ।’

प्रकाशित: २ कार्तिक २०७८ ०२:२६ मंगलबार

धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योग उद्योगलाई बिजुली