अर्थ

उपत्यकामा दशैँ लक्षित खसी-बोका भित्रिन थाले

काठमाडौं उपत्यकामा दशैँ लक्षित खसी-बोका भित्रिन थालेको छ। कोरोना संक्रमणको जोखिम कम भए सँगै खसी-बोका किन्नेको भीड बढ्न थालेको हो। कोरोना संक्रमण फैलनु अघिका वर्षझैँ पर्याप्त मात्रामा खसी-बोका नआएको कारण मुल्यमा वृद्धि भएको छ। 

हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरु पर्याप्त नआएपनि खसी-बोकाहरु काठमाडौंका मुख्य बजारमा आउन थालेको छ। काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन्।

अघिल्ला वर्षहरुमा जिउँदो च्याङ्ग्रा ७, ८ सय रुपैयाँमा पाइने अहिले १३, १४ सय रुपैयाँ मुल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरुले गुनासो गरेका छन्। नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सिमावर्ति गाउँबाट पनि आउँछ। कोरोना संक्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य बढेको छ।

काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी-बोका आउन थालेको छ। जिउँदो खसि बोका सरदरमा ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँमा विक्रि भइरहेको व्यवसायीले बताएका छन्।

काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडल पनि खसी-बोका विक्रि गर्दै आएको छ। कम्पनिले भोली शुक्रवारबाट खसी-बोका विक्रि गर्ने बताइसकेको छ। यसबाहेक फुलपातीको दिनदेखि काठमाडौंको चोकहरुमा किसान आफैँ आएर समेत खसि बोका बेच्ने गर्दछन्। काठमाडौंमा दशैँको बेला खसी-बोकाको मासु ११ लाख किलो भन्दा खसी-बोकाको मासु खपत हुने अनुमान गरिन्छ।

प्रकाशित: २१ आश्विन २०७८ ११:५१ बिहीबार

उपत्यकामा दशैँ लक्षित खसि बोका विक्री वितरण