अर्थ

पोखराको शान्तिनगरमा सेलवेजको नयाँ शाखा

पोखराको शान्तिनगरमा खुलेको सेलवेजको नयाँ शाखा। तस्बिरः सन्तोष\नागरिक

सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखरामा सेवा बिस्तार गरेको छ। झन्डै तीनदशकदेखि सेलवेज डिपार्टमेन्टल स्टोरले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गरिरहेको थियो। पोखरामा खुलेको यो २९ औं शाखा हो।

सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ। सेलवेजका गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीका अनुसार पोखरामा खुलेको यो छैठौं शाखा हो। पोखरा महानगरपालिका–७ शान्तिनगरमा खुलेको नयाँ शाखामा विहीबारदेखि किनेमल गर्न सकिने गिरीले बताए।

गिरीका अनुसार शान्तिनगरको यो शाखा पर्यटकीय क्षेत्र लेकसाइडलाई लक्षित गरि खोलिएको हो। लेकसाइड प्रवेशमार्गमा पर्ने र पर्यटकलाई किनमेलमा सहज हुनेगरि शाखा बिस्तार गरेको उनले बताए। ‘आसपासका क्षेत्रमा किनमेल गर्ने गतिलो ठाउँ नहुँदा स्थानीय बासिन्दा किनमेलका लागि महेन्द्रपुलसम्म पुग्नुपरेको थियो,’ उनले भने, ‘अब शान्तिनगर सहित लेकसाइड आउजाउ गर्ने सबैखाले पर्यटकलाई यसले सहज बनाउनेछ।’

पर्यटकीय क्षेत्र लेकसाइडका होटल र रेस्टुरेन्टले आवश्यक सबैखाले सामान किन्न पाउने हुँदा सहज हुने उनले बताए। शान्तिनगरमा शाखा बिस्तार गर्न झन्डै आठकरोड रुपैयाँ लगानी गरेको गिरीले बताए। सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि र बगरमा शाखा बिस्तार गरिसकेको छ। केहीमहिना भित्रै लेखनाथ क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उनले बताए। नयाँ शाखामा ग्राहक आकर्षण गर्न १० प्रतिशतसम्म छुट दिएको पनि उनले बताए। अहिले खाद्यसामाग्री, विद्युतीय सामान र फर्निचर बिक्रीका लागि राखिएको छ।

पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो। त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा पनि शाखा संचालन गरिरहेको छ। अबको ६ महिनापछि काठमाडौंंको महाराजगञ्जबाट पनि सेवा दिइने उनले बताए।  

प्रकाशित: २० आश्विन २०७८ १०:३० बुधबार

सेलवेज डिपार्टमेन्टल स्टोर्स शान्तिनगर