अर्थ

स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका स्थानीय तहमा बेरुजुको चाङ लाग्न थालेको छ। आर्थिक अनियमितता बढन थालेपछि बर्सेनि बेरुजुको चाङ लाग्न थालेको हो। अघिल्लो वर्षको तुलनामा गत वर्ष १० वटै स्थानीय तहमा बढी बेरुजु आएको महालेखा नियन्त्रको प्रतिवेदनमा उल्लेख गरिएको छ। केही कागज नमिलाएको र केही अनियमित तरिकाले भ्रष्टाचार भएको रकम असुल गर्ने महालेखाको कार्यालयले जनाएको छ। बैतडीका स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड बढी देखिएको छ। महालेखा परीक्षकको कार्यालयले निकालेको आर्थिक वर्ष २०७७/०७८ को प्रतिबेदनका अनुसार बैतडीको १० वटा स्थानीय तहको बेरुजु रकम ३२ करोड  ६३ लाख ७  हजार रुपैयाँ रहेको छ।

महालेखा परिक्षकको कार्यालयलले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसारअबैतडीका स्थानिय तहमा सबै भन्दा बढी बेरुजु डिलासैनी गाउँपालिका र सबै भन्दा कम बेरुजु पाटन नगरपालिकाको रहेको छ। डिलासैनी गाउँपालिकाको ८६ करोड ४१ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २० लाख २२ हजार बेरुजु रहेको छ। यो लेखा परीक्षण गरिएको ६ दशमलव २ प्रतिशत बेरुजु हो। यस्तै कम बेरुजु देखिने पाटन नगरपालिकाको १ अर्ब २० करोड ३८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ७२ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेको छ। यो लेखा परीक्षण गरेको रकमको १ दशमलव ४३ प्रतिशत हो।

त्यस्तै गाउँपालिकामा सबै भन्दा कम बेरुजु हुनेमा दोगडाकेदार गाउँपालिका रहेको छ भने नगरपालिकामा सबैभन्दा बढी बेरुजु हुनेमा दसरथचन्द नगरपालिका रहेको छ। दोगडाकेदार गाउँपालिकाको २ दशमलव २ प्रतिशत र दशरथचन्द नगरपालिकाको ३ दशमलव २३ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। दोगडाकेदार गाउँपालिकामा १ अर्ब  २ करोड ७१ लाख ३२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड २७ लाख ७९ हजार बेरुजु देखिएको छ। दशरथचन्द नगरपालिकाको १ अर्ब ४० करोड ८१ लाख ४३ हजारको लेखा परीक्षण गर्दा ४ करोड ५५ लाख १ हजार बेरुजु भेट्टिएको हो।

सिगास गाउँपालिकामा ३ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ। ८७ करोड ९९ लाख १५ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४२ लाख ५८ हजार बेरुजु देखिएको छ। यस्तै शिवनाथ गाउँपालिकामा पनि ५९ करोड ८८ लाख ५८ हजारको लेखापरीक्षण गरिएकोमा ४ दशमलव ८४ प्रतिशत अर्थात २ करोड ९० लाख १२ हजार बेरुजु देखिएको छ। पञ्चेश्वर गाउँपालिकाको पनि ४ दशमलव ५१ प्रतिशत अर्थात ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेको छ। सुर्नया गाउँपालिकाको ३ करोड ९८ लाख २६ हजार, पुर्चौडी नगरपालिकाको ३ करोड ४६ लाख ७२ हजार, र मेलौली नगरपालिकाको १ करोड ७३ लाख ३५ हजार बेरुजु रहेको छ।

प्रकाशित: १५ आश्विन २०७८ ०४:३५ शुक्रबार

बैतडीका स्थानीय तह बेरुजुको चाङ