अर्थ

माथिल्लो आँखु खोलालाई पाँच बैंकले कर्जा दिने

 धादिङ जिल्लाको साबिक लापा, सेर्तुङ र झार्लाङ गाविस (हालको रुवीभ्याली गाउँपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुने ३८ मेगावाट क्षमताको माथिल्लो आँखु खोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक नेपाल लिमिटेड र सिभिल बैंकले ऋण लगानी गर्ने भएका छन्। 

प्रवद्र्धक कम्पनी र लगानीकर्ता बैंकहरूबीच मंगलबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ। परियोजनाको अनुमानित लागत ७ अर्ब ३३ करोडमा बैंकहरूको ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहने बताइएको छ। २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइनेछ।  

उक्त आयोजना आगामी चार वर्षभित्रै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ। सोको लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइएको छ।

निर्माण सम्पन्न भएपछि उक्त आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको नुवाकोट जिल्लास्थित त्रिशूली ३ बी हब सबस्टेसनमा जोडिनेछ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र बर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत् उत्पादन हुनेछ ।

प्रकाशित: १४ आश्विन २०७८ ०४:४४ बिहीबार