अर्थ

पोखरामा आज सडक महोत्सव

कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले सोमबार बेलुकी ५ः०० देखि राति १०ः०० बजेसम्मका लागि मिनी स्ट्रिट फेस्टिवल आयोजना गरेको अध्यक्ष लक्ष्मण बरालले बताए।

उनका अनुसार लेकसाइडको बाराही चोकदेखि खहरे चोकसम्म सडक महोत्सवका कार्यक्रम हुनेछन्। सडकमा सार्वजनिक सवारी आउजाउ रोकेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने उनले बताए। सारंगी प्रस्तुति, लाखे र थारु समुदायको नाच सहित सडकमा रेस्टुरेन्टले विभिन्न परिकार पस्कने उनले बताए।

यसले पर्यटकलाई पोखरा तान्न सघाउने उनको अपेक्षा छ। ‘पोखरा खुला रहेको सन्देश दिन पनि फेस्टिवल गर्न लागिएको हो,’ उनले भने। उनका अनुसार अचेल पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढेको छ। बिदाको दिन यहाँका होटल र रेस्टुरेन्टमा आन्तरिक पाहुनाको भीड नै लाग्ने गरेको छ। 

प्रकाशित: ११ आश्विन २०७८ ०२:३२ सोमबार

कोरोना भाइरस विश्व पर्यटन दिवस रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखरा आन्तरिक पाहुनाको चहलपहल