उद्योग संगठन मोरङले औद्योगिक सर्वेक्षण २०७८ सुरू गरेको छ। सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन गर्ने उद्देश्यले औद्योगिक सर्वेक्षण थालिएको उद्योग संगठन मोरङले जनाएको छ।
तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने योजना अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण थालिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए। उनले एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने जानकारी दिए। उनले भने‘औद्योगिक सर्वेक्षण पछि नियमित रुपमा तथ्याँक अपडेट गर्दै लगिन्छ।’
संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्यांक संकलन गरिने संगठनका महानिर्देशक चुडामणी भट्टराईले बताए। उनका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्याकं संकलनका लागी सबै उद्योग प्रतिष्ठानहरु पुग्ने छन। संगठनले गुणस्तरिय तथ्याँक संकलनका लागि गणकहरुका लागि २ दिनको तालिम समेत सञ्चालन गरेको थियो। महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन्। यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइन बाटै अनुगमन गर्न सकिने छ।
परामर्शदाता कम्पनी फ्याक्ट्स नेपालसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याकं संकलनको काम असोज महिना भित्रमा सक्ने र मंसिरको पहिलो साता सम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने संगठनले जनाएको छ।
प्रकाशित: १० आश्विन २०७८ १०:४६ आइतबार