अर्थ

११ जनालाई ओमप्रकाश गोयल छात्रवृत्ति

विराटनगर १२ स्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाले ११ जना विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरेको छ। सहकारीको २४ औं साधारणसभाका अवसरमा मोरङका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई ओमप्रकाश गोयल स्टार छात्रवृत्ति प्रदान गरिएको हो।

गत वर्षको एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको सहकारीले जनाएको छ। छात्रवृत्तिको राशी ७ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, स्टार सहकारी संस्थाका अध्यक्ष रमेशकुमार पोखरेललगायतले नगद, प्रमाणपत्र र माला प्रदान गरेका थिए।

छात्रवृत्ति पाउनेहरूमा विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयका अजित उराव, मिल्स माविकी नेविनाकुमार राजवंशी,  विनश राजवंशी, जनपथ माविकी पुनमकुमारी कामत, सीमा राय, सरस्वती मावि विराटनगरी सुष्मा तामाङ, सदैव हुसेन रहेका छन्। यस्तै सत्यनारायण माविका रोशनकुमार ऋषिदेव, मिल्स माविकी पुजा राजवंशी, ज्योतिकुमारी केवट र देवी मावि ग्रामथानकी समिक्षा ढकाल छिन्।

कार्यक्रममा संस्थालाई लामो समयदेखि सहयोग गर्नेहरू हेमचन्द्र वस्ती, पर्शुराम प्रसाईलाई पनि सम्मान गरिएको थियो। यस्तै उत्कृष्ट ऋण्ीाहरू र वचतकर्ताहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सहकारीको माध्ययमबाट समाजमा सहकार्य गर्न सजिलो भएको बताए।

विराटनगरका उद्योगी दीनबन्दु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृत्तीमा छात्रवृत्ति स्थापना गरेका हुन्। उक्त छात्रवृत्ति हरेक वर्ष स्टार बहुउद्देश्यीय सहकारीको बार्षिक साधारणसभामा प्रदान गरिन्छ।

प्रकाशित: ९ आश्विन २०७८ १२:५७ शनिबार

छात्रवृत्ति सहकारी