अर्थ

खुल्यो अनअराइभल भिसा

सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि भिसासम्बन्धी व्यवस्था खुकुलो बनाएको छ। कोभिड–१९ का कारण २०७६ फागुनयता विदेशी पर्यटकका लागि भिसा बन्द थियो। 

संस्कृति तथा पर्यटन मन्त्रालयले एक आदेश जारी गरी भिसासम्बन्धी नियम खुकुलो बनाएको हो। विदेशबाट आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापन गर्ने सम्बन्धमा मन्त्रालयले जारी गरेको आदेशअनुसार अनअराइभल भिसा खुला गरिएको हो।

जसअनुसार सो भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको अवस्थामा नेपाल आएर विमानस्थलबाटै भिसा प्राप्त गर्न सक्नेछन्। यसरी आउँदा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडान चेकइन भन्दा ७२ घन्टाभित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट, होटल बुक गरेको प्रमाणलगायतका कागजात भने पेस गर्नुपर्नेछ।

सरकारले खोप नलगाएका विदेशीको हकमा भने सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर एजेन्सीमार्फत नेपाल भ्रमणको अनुमति पाउनेछन्। त्यस्ता व्यक्तिलाई नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ। 

उनीहरूले अनिवार्य रूपमा १० दिन आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्नेछ। विदेश भ्रमण वा रोजगारीका लागि गएका नेपाली नागरिक नेपाल फर्कंदा पनि खोपको मात्रा पूरा गरेकाको हकमा चेक इन हुनुभन्दा अघि ७२ घन्टाभित्रको कोभिड परीक्षण नेगेटिभ भएको प्रमाणसहित अन्तर्राष्ट्रिय यात्रु आगमन फाराम अनलाइनमार्फत भर्नुपर्नेछ।

त्यसैगरी नेपाल आउने नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकलाई आफन्तको अन्तिम संस्कारमा आएकाहरूले स्थानीय तहको सिफारिसका आधारमा खोपको मापदण्ड पूरा नभए पनि एन्टिजेन परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा जान दिने व्यवस्था गरिएको छ। त्यसैगरी एकै घरपरिवारका कुनै सदस्य अस्पतालको आइसियु/भेन्टिलेटरमा उपचारार्थ भर्ना भएका तथा हेरचाह गर्ने कोही नभएकाको हकमा अस्पतालको कागजात एवं स्थानीय तहको सिफारिसका आधारमा एन्टिजेन परीक्षण नेगेटिभ आए गन्तव्यमा जान दिइनेछ।

प्रकाशित: ९ आश्विन २०७८ ०३:४१ शनिबार

संस्कृति तथा पर्यटन मन्त्रालय भिसासम्बन्धी व्यवस्था कोभिड–१९ विरुद्धको खोप