अर्थ

एक सातामा २६ अर्ब रूपैयाँले बढ्यो निक्षेप

वित्तीय संस्थामा तरलता अभाव हुन लागेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।

यद्यपि यस्तो निक्षेप वृद्धि अल्प वा दिर्घकालीन के हो भन्नेबारे अझै प्रस्ट भइसकेको छैन। बैंक तथा वित्तीय संस्थामा कतिसम्म तरलता अभाव हुन्छ भन्ने कुरो सरकारले गर्ने पुँजीगत बजेट खर्चले  निर्क्यौल गर्ने बैंकरहरू बताउँछन्।

चालु आर्थिक वर्षको दुई महिना बिते पनि सरकारले बजेट खर्च गर्न सकेको छैन, जसले गर्दा तरलता अभाव सघाएको बताइन्छ। कोरोना महामारी सुरु हुनुअघिका वर्ष चाडपर्वपछि मात्र बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुने गर्थ्यो।

यो वर्ष दसैंअघि नै तरलता अभाव देखिएकाले आर्थिक वर्षको उत्तराद्र्धमा यस्तो समस्या बढ्ने अनुमान गरिएको छ। ‘तरलता अभावलाई कम गर्न सरकारले पुँजीगत बजेट खर्च गर्ने दरलाई तीव्रता दिनुको विकल्प छैन,’ एक बैंकरले भने। कोरोना महामारीले आक्रान्त पारेको बेला गत वर्ष भने बैंकिङ प्रणालीमा दुई सय अर्ब रूपैयाँ भन्दा बढी तरलता थुप्रिएको थियो। ‘पछिल्लो एक सातामा निक्षेप संकलन बढे पनि अहिलेको बजारमा हात्तीको मुखमा जिरा जस्तै हो,’ अर्का वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘कर्जाको माग बढेपछि निक्षेप जुटाउन सकिएको छैन।’ 

बैंकर्स संघका अनुसार भदौ पहिलो साता सात अर्ब रूपैयाँले घटेको निक्षेप सोही महिनाको अन्तिम साता २६ अर्ब रूपैयाँले बढेको हो। निक्षेप संकलन भदौ दोस्रो साता आठ र तेस्रो साता चार अर्ब रूपैयाँले बढेको थियोे।

संघका अनुसार यस अवधिमा निक्षेप संकलनको साथै कर्जा लगानी पनि बढेको छ। भदौ अन्तिम साता ती बैंकहरूले २८ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। भदौ तेस्रो साता बैंकहरूले २५ अर्ब रूपैयाँ कर्जा लगानी गरेका थिए।

संघले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ ३१ सम्ममा वाणिज्य बैंकहरूले ४१ खर्ब ७१ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ३८ खर्ब ७२ अर्ब रूपैयाँ लगानी गरेका छन्। बैंकरहरू सहज तरलता नहुँदा यतिखेर अधिकांश बैंकलाई एकातिर व्यापार विस्तार गर्न र अर्कोतर्फ नगद कोष अनुपात (सिआरआर) व्यवस्थापन गर्न समस्या परिरहेको बताउँछन्।

तरलता अभावकै कारण अन्तरबैंक दर नै पाँच प्रतिशत हाराहारी पुगेको बैंकर बताउँछन्। तरलतामा असहज हुँदा बैंकहरूले केन्द्रीय बैंकबाट पाउने सापटी सुविधा (एसएलएफ) को मात्रा समेत बढाएका छन्। मंगलबार बैंकहरूले १५ अर्ब ४९ करोड रूपैयाँ एसएलएफ लिएका छन्।

१३.८३ बिन्दुले बढ्यो नेप्से

मंगलबार पुँजी  बजारमा करेक्सन आएको छ। अघिल्लो दिन ११४ बिन्दुले घटेको पुँजी बजार यस दिन सेयर बजार परिसूचक नेप्से १३.८३ बिन्दुले बढेको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयमा सामान्य सुधार हुन पुगेको हो। उतारचढावपूर्ण बजारमा नेप्से २६१५ सम्म झरेको थियो। तर अन्तिम समयमा १३.८३ ले बढेपछि कारोबार बन्द हुँदा २७३४.५२ कायम भएको छ। यस दिन सात अर्ब ३६ करोड ४७ लाख रूपैयाँको कारोबार भयो। एक सय ३२ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ।

प्रकाशित: ६ आश्विन २०७८ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App