अर्थ

केयू र जाम्बियाबीच छलफल

काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनेबारे छलफल भएको छ।विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयूको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा छलफल भएको हो।  

अन्तक्र्रियामा केयूका तर्फबाट उपकुलपति भोला थापा, स्कुल अफ साइन्सेजका डिन कन्हैया झा, स्कुल अफ इन्जिनियरिङका डिन मनीष पोखरेल र सहायक डिन वृजेश अधिकारी, रिसर्च डेभलपमेन्ट एन्ड इन्नोभेसनका निर्देशक दीपक सुवेदी, उपकुलपति कार्यालयको कोअर्डिनेटर डिभिजनका निर्देशक विभूतिरञ्जन झा र कम्युनिटी इन्गेजमेन्टका सल्लाहकार बालचन्द्र लुइँटेल, ग्लोबल इन्गेजमेन्ट डिभिजनका सहनिर्देशक उद्धव प्याकुरेल, भूपेन्द्र विमल क्षेत्री लगायतको सहभागिता थियो। 

नेपालस्थित जाम्बियाको महावाणिज्य दूतावासबाट महावाणिज्यदूत देशबन्धु बस्नेतसँगै कन्सुलेट प्रभात कार्की सहभागी थिए। स्कुल अफ इन्जिनियरिङका सहायक डिन वृजेश अधिकारीको छोटो प्रस्तुतिबाट सुरु भएको अन्तक्र्रियामा केयू र जाम्बियाबीच विगतमा भएका सहकार्यको समीक्षा गर्दै त्यसलाई आउँदा दिनमा अझ लाभदायी बनाउन के गर्न सकिन्छ भन्नेमा छलफल भएको छ। 

अधिकारीको प्रस्तुतिमा नेपालमा जाम्बियाका मात्र नभई अन्य अफ्रिकी मुलुकका विद्यार्थीका लागि पनि प्रभावकारी उच्च शिक्षाको केन्द्र बन्न सक्ने खुबी रहेको देखिएको छ। केयूबाट दीक्षित १९ जना जाम्बियाका नागरिक त्यहाँ विभिन्न क्षेत्रमा पहिलेदेखि नै कार्यरत रहेको पृष्ठभूमिमा केयूलाई त्यस क्षेत्रमा अझ लोकप्रिय बनाउनमा ती पूर्वविधार्थीलाई सद्भावना दूतका रूपमा परिचालन गर्नुपर्ने सहभागीले सुझाउ।  

विश्वविद्यालयले विदेशी विद्यार्थीका लागि हरेक संकायमा १० प्रतिशत सिट आरक्षण गरेको छ। केयूमा कार्यरत हरेक प्राध्यापक र सहप्राध्यापकको मातहत अनुसन्धानको काम गर्ने रिसर्च फेलो रहने नयाँ व्यवस्था अनुरूप यदि उक्त फेला विदेशी नागरिक भएमा उनको शिक्षण शुल्क र स्थानिय आवास सुविधा समेत उपलब्ध गराइने प्रावधान छ।

प्रकाशित: ४ आश्विन २०७८ ०२:१९ सोमबार